
कैलाली, श्रावण २७ । डोटीको आदर्श गाउँपालिकामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् ।
राति करिब साढे एक बजे भत्किएको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा विक, छोरा ९ वर्षीय पारस विक, ४ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी वकि रहेको इलाका प्रहरी कार्यालय आदर्शका इन्चार्ज प्रहरी निरीक्षक बीरबहादुर बुढाले जानकारी दिए ।
पत्थरे पुरानो घर भएका कारण भत्केको हुनसक्ने बुढाले बताए । दुई दिनदेखि लगातार पानी समेत परिरहेको थियो। घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक रहेको प्रहरी निरीक्षक बुढाले जानकारी दिए।
घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाइएका छन्। प्रहरीका अनुसार चार जना गम्भीर घाइते छन् । उनीहरुको टाउको, हातखुट्टा तथा ढाडमा गम्भीर चोट छ । घरमा चौपायहरु समेत च्यापिएका र उनीहरुको उद्धार भइरहेको प्रहरी निरीक्षक बुढाले बताए।