News Portal

उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
३९८ पटक

काठमाडौ,साउन ३१ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जना कोरोना संक्रमितहरू थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, उपत्यकाका जिल्लाहरू काठमाडौंमा ८० जना, ललितपुरमा ९ र भक्तपुरमा ९ जना गरेर ९८ जना संक्रमित भेटिएका हुन्।

यसअघि शुक्रवार काठमाडौंमा ८३ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ६ कोरोना संक्रमित थपिएका थिए।

त्यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकासहित देशैभर थप ४६८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी संक्रमित संख्या २६ हजार नाघेको जनाएको छ।

शनिबार थपिएको सहित संक्रमित संख्या २६ हजार १९ पुगेको छ। सवैभन्दा बढी संक्रमित आज पनि काठमाडौंमै थपिएका छन।

शनिबार निको भएर घर फर्कने संक्रमित संख्या भने १२४ जना मात्रै छन्। यो सहित डिस्चार्ज हुने संक्रमित संख्या १७ हजार २०१ पुगेको छ। अर्थात्, संक्रमित मध्ये ६६.१० प्रतिशत संक्रमित निको भएका छन्।

२४ घण्टामा थप तीन जनाको मृत्यु भएपछि नेपालमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ। मन्त्रालयले कपिलपस्तु, धनुषा र पर्सामा एक–एक जनाको मृत्यु भएको जनाएको छ।

प्रतिकृया दिनुहोस्