News Portal

नेकपा सचिवालयद्वारा कार्यदल अनुमोदन

रातोपोस्ट संवाददाता
४२३ पटक

काठमाडौं,भदौ १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ।

‘आजको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको छ’, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कार्यदलले आज राष्ट्रका सामू देखापरेका कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुनेगरी गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिन सफल हुने छ भन्ने आशाको साथ कार्यदललाई बैठकले शुभकामना दिएको छ।’

अध्यक्षद्वयले पार्टी विवादलाई समाधान गर्न अध्यक्षद्वयले कार्यदल गठन गरेकोमा पनि सचिवालयले धन्यवाद दिएको श्रेष्ठले बताए। ‘सचिवालय बैठकले केही समययता पार्टीमा देखा परेको समस्याहरुको समाधान र संकटको निकासको निम्ति भइरहेको छलफललाई व्यवस्थित ढंगले अगाडि बढाएर टुंगोमा पुर्‍याउन अध्यक्षहरुले कार्यदल गठन गरेर सुझाव पेश गर्न जुन पहल गर्नुभयो। त्यसलाई बैठकले सकारात्मक रुपमा लिँदै त्यसको निम्ति धन्यवाद दिएको छ’, उनले भने।

अध्यक्षद्वयको गत शुक्रबार भएको छलफलपछि ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले आन्तरिक छलफल गर्दै आएको छ। आइतबार मात्रै कार्यदलको बैठक ९ घण्टासम्म बसेको थियो।

सचिवालय बैठक बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

प्रतिकृया दिनुहोस्