News Portal

आज रामवृक्ष यादवको २७ औँ स्मृति दिवस

रातोपोस्ट संवाददाता
९०१ पटक

काठमाडौँ, भदौ २ । आज भदौ २ गते तत्कालीन नेकपा (माओवादी) का नेता सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवस हो ।

धनुषाको बर्मझियामा जन्मिएका यादवलाई तत्कालीन देउवा सरकारको संरक्षणमा काङ्ग्रेसी गुन्डाहरूले बर्मझियामै हत्या गरेका थिए ।

२०५१ साल भदौ १ गते नेपाल बन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते वीरेन्द्रबजारबाट घर फर्कंदै गर्दा सादा पोसाकमा रहेका प्रहरी र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले घरेलु हतियार प्रयोग गरी बीभत्स तरिकाले यादवको हत्या गरेका थिए ।

नेपालमा जनयुद्ध सुरुआतको समयमा केन्द्रीय तहबाट भएको यो ठूलो बलिदान थियो । तराईमा माओवादीको प्रभाव विस्तार रोक्ने देशी–विदेशी षड्यन्त्रमा यादवको हत्या भएको माओवादी निष्कर्ष थियो । रामवृक्ष यादवको हत्या भएको आज २६ वर्ष पुगिसकेको छ ।

रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा महान् क्रान्तिकारी योद्धा, नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा तथा तत्कालीन महान् नेपाली जनयुद्धका पहलकर्ता रामवृक्ष यादवप्रति नेपाल कम्युनिस्ट पार्टीले श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेको छ ।

तराई क्षेत्रमा सामन्त जमिनदारहरूले गाउँका जनतामाथि गरेको थिचोमिचो, अन्याय–अत्याचार देखेर त्यसको अन्त्य गर्न कम्युनिस्ट बनेका रामवृक्ष यादव होनहार इमानदार र कर्मठ योद्धा थिए । यादव वर्गप्रतिको इमानदारी र क्रान्तिप्रतिको निष्ठाभावले भरिएका व्यक्ति थिए ।

उनी कम्युनिस्ट क्रान्तिकारीहरूका लागि वैचारिक प्रेरणा र प्रतिबद्धताका अगुवाका रूपमा रहिरहनेछन् । नेकपाले प्रत्येक वर्ष भदौ २ गते यादवको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्