News Portal

  • कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

    रातोपोस्ट संवाददाता
    ५६१ पटक

    काठमाडौं, भदौं ४ : कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले प्रदेश मन्त्रिपरिषद् बैठकले हरेक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवसका रुपमा मनाउने निर्णय गरेको बताए ।

    विसं २०७२  साउन–भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र  गोपालसिंह रजवार तथा जुम्लाका हरिबहादुर कुँवरले शहादत प्राप्त गरेका थिए ।

    तत्कालीन सरकारले मृतकलाई शहीद घोषणा गर्नाका साथै अलग प्रदेश स्थापनाको माग पुरा गरेपछि आन्दोलन स्थगन भएको थियो । कर्णाली सरकारले यही दिनको सम्झनास्वरुप प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

    के थियो आन्दोलन ? 

    नयाँ संविधानको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेका बेला प्रमुख दलका नेताहरु सम्मिलित विशेष समितिले २०७२ साउन २३ मा ६ प्रदेशको खाका सार्वजनिक गरेपछि भेरी–कर्णाली क्षेत्र असहमति जनाउँदै आन्दोलित भयो ।

    त्यतिबेला सुदूरका नौ तथा मध्यपश्चिमका १० जिल्ला (रुकुम आधा) समेटेर एउटै प्रदेश प्रस्ताव गरिएको थियो । बेग्लै र स्वायत्त प्रदेशको माग राखी १३ दिनसम्म चलेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सुर्खेतमा तीन र जुम्लामा एक जनाले ज्यान गुमाए, थुपै्र सर्वसाधारण घाइते भए ।

    भेरी–कर्णाली क्षेत्रमा आन्दोलन उत्कर्षमा पुग्न थालेपछि भदौ ४ गते प्रमुख राजनीतिक दल प्रस्तावित ६ प्रदेशको सीमाङ्कन पुनरवलोकन गर्न बाध्य भए ।

    अन्ततः सात प्रदेशसहितको सङ्घीय संरचना निर्माण गर्ने समझदारीअनुरुप साविक कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोट, भेरीका दैलेख, सुर्खेत र जाजरकोट, राप्तीका सल्यान र रुकुम (पश्चिम भाग) समेटेर ६ नम्बर प्रदेश घोषणा भयो । यसलाई प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश’ नामकरण गरिसकेको छ ।  रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)