News Portal

कालिकाेटमा विप्लवका कार्यकर्ताले बनाएको पुल सेनाले भत्काइदिए पछि..

रातोपोस्ट संवाददाता
८४१ पटक

कालिकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिकास्थित फुगगाड खोलामा नेकपाका कार्यकर्ताले बनाएको अस्थायी पुल नेपाली सेनाले भत्काएपछि फेरि नेकपाका कार्यकर्ताले नै नयाँ पुल बनाएका छन् ।

गत साउन १३ गते आएको बाढीले उक्त खोलामा रहेको झोलुङ्गे पुल र बेलिब्रिज बगाएपछि नेकपाका कार्यकर्ताले बनाएका थिए तर नेपाली सेनाले उक्त पुल भत्काइदिएपछि नेकपाका कार्यकर्ताले फेरि बनाएका हुन् ।

पुल र बेलिब्रिज बाढीले बगाएपछि पचाल झरना, पलाँता गाउँपालिका, बाजुरा, मुगु र हुम्लाबाट आवतजावत गर्ने मानिसलाई अप्ठेरो परेको थियो ।
जनताको अप्ठेरोलाई समाधान गर्न नेकपा कालीकोटले साउन ३० गते अस्थायी पुल बनाएर जनतालाई आवतजावतमा सहजता प्रदान गरेको थियो ।

नेकपाका कार्यकर्ताले पुल बनाएको थाहा पाएपछि नेपाली सेनाको टोलीले यही भदौ १ गते त्यहाँ पुगेर बिनाकारण उक्त पुल भत्काइदिएको थियो ।

सेनाले पुल भत्काएपछि जनताको आवतजावतमा फेरि उस्तै कठिनाइ उत्पन्न भयो । जनताले एउटा फलामको तारमा ज्यान जोखिममा राखेर जनही मान्छे तारेको ५०० रुपैयाँ भारी तारेको ३०० सय रुपैयाँ तिर्नुपर्ने बाध्यता उत्पन्न भएको थियो ।

नेकपाका कार्यकर्ताले बनाएको पुल सेनाले भत्काएको खबर पुनः नेकपाको कार्यालयमा पुग्यो । त्यसपछि नेकपा कार्यकर्ताले भदौ ३ गते दुई दिनपछि खच्चड हिँड्न मिल्ने नयाँ पुल बनाएका छन् । सेनाले भत्काइदिएको पुल नेकपा कार्यकर्ताले फेरि बनाइदिएपछि भुराबगड, घाटाचौर, भैसासैन, जारकोट, थिर्पु बजार हुँदै बाजुरा, मुगु, हुम्ला जिल्लासम्म पुग्ने यात्रु खुसी भएका छन् ।

सेनाले पुल भत्काएपछि दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सर्वसाधारणहरुलाई समस्या परेको थियो ।

राज्यले नेकपामाथि प्रतिबन्ध लगाएकै कारण नेकपाका कार्यकर्ताले गरेको विकास निर्माणको काम सेनाले देख्न नसक्नुले शाहीकाललाई स्मरण गराएको स्थानीयको गुनासो छ ।

अहिले नेकपा कार्यकर्ताले खच्चड नै हिँड्न मिल्ने पुल बनाएपछि सर्वसाधारण निकै खुसी भएको नेकपा जिल्ला सेक्रेटरी रणदीप ऐडीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्