News Portal

थप ८१८ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १४९ पुग्यो

रातोपोस्ट संवाददाता
४३५ पटक

काठमाडौँ, भदौ ७ । नेपालमा आज ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २२० महिला र ५९८ पुरुष रहेका छन् । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर ११ हजार ४२४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार २१२ जना र होम आइसोलेसनमा ३ हजार ९४३ रहेका छन् ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २८१ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं रहेका छन् । प्रवक्ता गौतमका अनुसार म्याग्दी, मुस्ताङ, र हुम्ला गरेर तीन जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको हो।

प्रतिकृया दिनुहोस्