News Portal

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

रातोपोस्ट संवाददाता
५१५ पटक

काठमाडौं, भदौ १२ । कोरोना नियन्त्रणका लागि गठित संयन्त्र कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका दुईजना कार्यालय सहयोगीलाई नै सङ्क्रमण देखिएपछि रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल सेल्फ आइसोलेसनमा बसेका छन् ।

“सीसीएमसीको केही दिनअघिको बैठकमा रक्षामन्त्री सहभागी हुनुहुन्थ्यो । सीसीएमसी बैठकमा भित्र-बाहिर गर्ने कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि उहाँ सेल्फ आइसोलेसनमा हुनुहुन्छ,” उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेलनिकट एक ब्यत्तिले बताए ।

बैठकमा सहभागी भएका गृहमन्त्री पनि आइसोलेसनमा छन् । रक्षामन्त्री र गृहमन्त्री नै आइसोलेसनमा बस्नुपर्ने भएपछि भोलिलाई तय भएको सचिवालय बैठक १८ गतेका लागि सरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । भोलिको बैठकमा विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । अब १८ गते छलफल हुनेछ ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पीएसओसहित सुरक्षा गार्डलाई कोरोना सङ्क्रमण देखिएपछि सचिवालयको बैठक १३ गतेलाई तय भएको थियो । नेता नेपाल झन्डै सातदिन होम क्‍वारेन्टिन बसेका थिए । नेपालसहित उनको सचिवालयको बुधबार पनि कोरोना परीक्षण भएको थियो । सबैको नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्