News Portal

झापाका १५ सहित प्रदेश १ मा थप ७४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४६९ पटक

विराटनगर, भदौ १२ । प्रदेश १ मा आज ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुनसरीमा ४१, मोरङ १४, झापामा १४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष र कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। त्यस्तै मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २/२ पुरुषमा संक्रमण देखिएको छ।

झापाको कमल गाउँपालिकामा २ महिला ७ पुरुष, मेचीनगरमा ३ पुरुष, भद्रपुरका एक पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिलामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको कोरोना परीक्षण पीसीआर रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ।

प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ। झापाको दमकका एक पुरुष, मोरङको बेलबारीकी एक महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पतालमा मृत्यु भएको हो। र सिरहाको लहानकी एक महिलाको विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा शुक्रवार मृत्यु भएको हो।

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। संक्रमणबाट मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्