News Portal

नेपाल आइडल सिजन–३ को विजेता बनिन् सज्जा चौलागाईँ

रातोपोस्ट संवाददाता
८५२ पटक

काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए ।

शुक्रबार राति घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जज तथा प्रतिस्पर्धी अनुपस्थित रहे ।

नेपाल आइडल निर्माण पक्षले भनेको छ–ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुती पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।

तथापी प्रतिस्पर्धी तथा आम दर्शकको भावनालाई कदर गर्दै आज बेलुका प्राप्त भोट तथा जजको मूल्यांकनको आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले घोषणा गर्नुहुनेछ । आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

को हुन् विजेता सज्जा चौलागाईं ?

मोरङ पथरीकी सज्जा चौलागाईँ नेपाल आइडलकी उत्कृष्ट प्रतियोगी हुन् । नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायलले सबैलाई प्रभावित पारेकी छन् ।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।

ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् । उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो । पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन् । ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन् ।

गायक सविन राईकी फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको बताउँछिन् ।

प्रतिकृया दिनुहोस्