News Portal

चौधरीको होटेलमा काँग्रेस गठबन्धन : राष्ट्रपति रामचन्द्र, सभापतिमा शशांक ?

रातोपोस्ट
५०३ पटक

काठमाडौं, भदौ १७ । दलहरु नेता र कार्यकर्ताले चलाउने भन्दा व्यापारीले गलाउने अवस्थामा पुगेको कुरा नेकपा विवादका क्रममा राम्रैसँग पटाक्षेप भइसकेको छ । अहिले फेरि देशको सबभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र व्यापारीहरु सल्बलाउँदा हलचल मच्चिएको छ ।

धन्न कोरोना पोजिटिभ भएर डलर अर्बपति सांसद विनोद चौधरी सेल्फ आइसोलेसनमा गए, नत्र यतिबेलासम्म कांग्रेसको रडाको कोरोना महामारी बिर्साउने तहमा पुगिसकेको हुने थियो । काठमाडौं चर्को लकडाउनमै थियो । सानेपास्थित उनको होटल भिभान्तामा अघिल्लो शुक्रबारदेखि मंगलबारसम्मको ब्रेकफास्ट, डिनर हुँदै लञ्चसम्मका घटनाक्रमले कांग्रेसभित्र तरंग मच्चियो । पाँचमध्येको एक दिन बिहानैदेखि सभापति शेरबहादुर देउवा र महामन्त्री सशांक कोइरालाले ब्रेकफास्टदेखि डिनरसम्म भ्याए । यस्तो गठबन्धन थियो, शेरबहादुर र सशांकलाई मिलाउने । सूत्रधार थिइन्, देउवापत्नी आरजु राणा ।

गठबन्धनमा शेरबहादुरको तर्फबाट लिट्टिल एजल्स स्कुलका साहु उमेश श्रेष्ठ, व्यापारी विनोद चौधरी, मकवानपुरे नेता इन्द्र बानियाँ थिए भने सशांकको तर्फबाट डा.मीनेन्द्र रिजाल, दीपक गिरी र दीपक खड्का देखिए । यी ६ भाइचाहिँ पाँचमा पाँचै दिन भेला भए । तर, बीचैमा बिनोद चौधरीमा कोरोना पोजिटिभ देखिएपछि सबै नेता होम क्वारिन्टिनमा छन् ।

यो गठबन्धनले गरेको सहमति यस्तो छ, अबको प्रधानमन्त्रीमा शेरबहादुर, राष्ट्रपति रामचन्द्र पौडेल, पार्टी महामन्त्री आरजु राणालाई बनाउने गरी सभापतिमा शशांक कोइरालालाई समर्थन गर्ने । र, रामचन्द्रलाई सभापतिको उम्मेदवार हुनबाट फिर्ता गर्ने काममा सशांक र डा.मीनेन्द्रले पहल गर्ने । तर, विमलेन्द्र निधी, शेखर कोइरालादेखि प्रकाशमान सिंहसम्मलाई त्यहाँ वास्ता गरिएन ।

उनीहरुलाई पनि त्यही सहमतिभित्र ल्याउन सकिने विश्वासका कारण वास्ता नगरिएको सहभागी एक नेताले सुनाए । यसबाहेक अर्जुननरसिंह केसी र कृष्ण सिटौलाका को–को मान्छे यो गठबन्धनमा आउलान् ? तिनका पद व्यवस्थापन कसरी गर्ने ? जस्ता प्राविधिक विषयहरु बुधबारदेखि सल्ट्याउँदै जाने भन्ने कुरा थियो । तर, चौधरीको कोरोनाले सबै कुरा रोकियो । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्