News Portal

वामदेव गौतम सरकारमा जाँदा गृह कि अर्थ ? यस्तो छ ओलीको रणनीति

रातोपोस्ट
६८२ पटक

काठमाडौ, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि सरकारमा लैजानुपर्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली असजिलोमा परेका छन् । गौतमलाई राम्रो मन्त्रालयसहित वरिष्ठ उपप्रधानमन्त्री बनाउनुपर्ने बाध्यता भएपछि ओली अप्ठ्यारोमा परेका हुन् । गौतमलाई मनोनयन गर्ने विषयमा ओली द्विविधामा छैनन् तर गौतमले सरकारमा जाने मनसाय व्यक्त गरेपछि कुन मन्त्रालय दिने, यसमा भने द्विविधा छ ।

गौतमले सरकारमा सक्रिय सहभागिताको चाहना व्यक्त गरिसकेका छन् । ‘सांसदमात्र भएर मेरो भूमिका खास देखिन्न, सरकारमा सहभागी गराउनुस्, भूमिका देखाउनेछु’, ओलीलाई गौतमले भनेका थिए । त्यसपछि गौतमसँगको भेटमा ओलीले पूर्वएमाले र पूर्वमाओवादीका भागमा परेका मन्त्रालय परिवर्तन गरी सन्तुलन मिलाउन चाहेको बताएका थिए । ओलीले उपप्रधानमन्त्रीसहित गृह लिएर सहयोग गर्न गौतमसमक्ष प्रस्ताव गरेका थिए । जबाफमा गौतमले आफू धेरैपटक उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेको र अब उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी लिएर जनपक्षीय बजेट ल्याउने चाहना रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई रक्षामा पठाई गृहमा गौतमलाई ल्याउने, रक्षामन्त्री ईश्वर पोखरेललाई पार्टीको जिम्मेवारीमा पठाउने योजना बनाएका थिए । गौतमले त्यो प्रस्ताव अस्वीकार गरेको बालुवाटार निकट स्रोतले जनाएको छ । गौतमले गृहमन्त्री बन्न स्वीकार गरेमात्र थापाको मन्त्रालय परिवर्तन हुनेछ, अन्यथा यथावत् रहने स्रोतले बतायो ।

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिइसकेको अवस्थामा ओलीले अर्थ मन्त्रालयल तत्काललाई आफैंसँग राख्ने भएका छन् । बालुवाटार निकट स्रोतका अनुसार खतिवडालाई नै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा मनोनयन गरेर अर्थ मन्त्रालय हेर्न जिम्मा दिने तयारी ओलीको छ । यसबारेमा प्रधानमन्त्री ओलीले केही भनिहालेका भने छैनन् । गौतमले अर्थ मन्त्रालयमै जोडबल गरिरहे केही समय मन्त्रिपरिषद् पुनर्गठन नै नगर्ने प्रधानमन्त्रीको सोच छ । नागरिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्