News Portal

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा शिक्षकसहित तीन जना पक्राउ

रातोपोस्ट
४४१ पटक

बैतडी, भदौ २४। बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मंगलबार नियन्त्रणमा लिएको छ।

किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटक-पटक बलात्कार गरेको आरोप लागेको छ। आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

आरोपीलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारबाही हुने उल्लेख छ। कानुनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ। ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटक–पटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। हामीले घटनाको सुक्ष्म अध्ययन गरिरहेका छौँ। पीडित किशोरीलाई पनि बुझ्ने काम गरिरहेका छौँ । यो घटनामा संलग्न भएका कसैलाई पनि छाडिँदै उनले भने।

पीडित किशोरीसँगै उनका श्रीमान् र एकजना दाजुसमेत सदरमुकाम पुगेका छन्। सोमबार सिगास पुगेको प्रहरीले मंगलबार किशोरीको उद्धार गरेर सदरमुकाम ल्याएको हो। पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिने प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको हो। यो घटना पहिलाकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन् । रासस

प्रतिकृया दिनुहोस्