News Portal

साथी म बन्दी छु – कमरेड माइला लामा

रातोपोस्ट
१५५२ पटक

फलामे ढोका पर्खालभित्र, साथी म बन्दी छु
न्यायको गीत गाउँदै हिँड्दा, साथी म बन्दी छु ।

विदेश होइन युवाको पौरख, देशभित्रै पोख्न देऊ
प्यारीको साथमा पसिना धारा, माटोमा रोप्न देऊ
दिदी र बहिनी पराइको देशमा, बेचिन नदेऊ
भनेर युवा आवाज गाउँदा, साथी म बन्दी छु ।

ढुकुटीमाथि लामो हात गरे, देश भो बर्बाद
माटोको माया गर्छु भन्नेलाई, छैन केही पर्वाह
भ्रष्टका धन जफत गर, राज्यको बनाऊ
भनेर देशको हितमा गाउँदा, साथी म बन्दी छु ।

सीमाना हाम्रो खुम्चिँदै गयो, मिच्दै छ छिमेकी
पराइको हेपाइ सहेर कति, बस्ने हो नेपाली
माटोका खातिर जाग्नुपर्ने भो, लड्नु नै पर्ने भो
भनेर देशको स्वाभिमान गाउँदा, साथी म बन्दी छु ।

मान्छेले मान्छे ठगेर खाने, चलन मेटाइदिऊँ
विभेदका पर्खाल ढालेर सबै समान बनाइदिऊँ
सुखले जिऊन् नेपालीजन, शान्तिले बाँच्न देऊ
भनेर देशको समृद्धि गाउँदा साथी म बन्दी छु ।               

माइला लामा, नख्खु कारागार, ललितपुर, २५ साउन, २०७६
हाल : जिल्ला कारागार संखुवासभा 

प्रतिकृया दिनुहोस्