News Portal

पौने १७ करोड भ्रष्टचार गर्ने इन्जिनियर माथि मुद्दा दर्ता

रातोपोस्ट संवाददाता
४१६ पटक

काठमाडौं, २५ भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय आयोजना कार्यान्वयन इकाइ, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशिप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

उनीविरुद्ध बिहीबार १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँ भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । इन्जिनियर गुप्ताले गैरकानुनी सम्पत्ति आर्जन गरी सो रकम आफ्ना १३ जना आफन्तको नाममा राखेको ठहर गर्दै उक्त रकमबराबरको बिगो दाबीसहित मुद्दा दर्ता गरेको हो ।

०३८ साल पुस १२ गते ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका गुप्ताले ०७६ असार ५ गते सिनियर डिभिजनल इन्जिनियर पदबाट अवकाश पाएक थिए । गुप्ताले सार्वजनिक पद धारण गरेको मितिदेखि १ करोड ११ लाख ६९ हजार ९६२ आर्जन गरेको र सोही अवधिमा निजले १७ करोड ८४ लाख २६ हजार ४५९ खर्च तथा लगानी गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।

गुप्ताले आफन्तहरु अन्जुकुमारी महतो, उदितनारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरजकुमार गुप्ता, प्रीतिकुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली रकम लुकाई–छिपाई राखेको अख्तियारको दाबी छ ।

गुप्तालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसुरको मतियारको कसुरमा बिगो १६ करोड ७२ लाख ५६ हजार ४९६ कायम गरी सजाय हुन मागदाबीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

प्रतिकृया दिनुहोस्