News Portal

सुगा जापानको ९९ औं प्रधानमन्त्रीमा निर्वाचित

रातोपोस्ट संवाददाता
७१५ पटक

एजेन्सी,भदौ ३१ । योशिहिदे सुगा जापानको ९९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसदले शिन्जो आबेको राजीनामा पछि सुगालाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरेको हो ।

आबेको घनिष्ठ सहयोगी सुगाले आफ्नो पूर्ववर्ती नीतिहरू जारी राख्ने अपेक्षा गरिएको छ । आबेले गत महिना स्वास्थ्यमा समस्या देखिएपछि राजीनामा दिएका थिए ।

बुधबार संसदमा भएको मतदानमा सुगाले ३१४ मत पाएका थिए । लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४६५ सदस्यमध्यबाट ३१४ मत प्राप्त गरेका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले आबेलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री सुगाले आफू किसानको जेठो छोराको रुपमा जन्मिएको बताएका छन् ।

उनले आफू कृषकको छोरा भए पनि राजनीतिमा शून्यबाट सुरुवाता गरेको बताएका छन् ।

‘कुनै ज्ञान वा रगतको नाता नहुँदै, मैले राजनीतिको विश्वमा शून्यबाट प्रवेश गरें र म एलडिपीको प्रमुख बन्न सक्षम भएँ’, उनले भने ।

जापानको सत्तारुढ दल एलडीपीको नयाँ नेताको रुपमा सुगा सोमबार चयन भएका थिए । उनले ५३४ मध्येबाट ३७७ मत प्राप्त गरेका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्‍न आफ्नो जोड रहने बताएका छन् । सुगाको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिने छ ।

प्रतिकृया दिनुहोस्