News Portal

मन्थलीको गेलुमा खानेपानीको चरम समस्या, मुहानै दुषित भएको स्थानीयको आरोप

प्रविण अधिकारी
१७६१ पटक

 रामेछाप, असाेज ७। रामेछापको मन्थली नगरपालिका वडा नम्बर – १२ गेलु स्थित घुर्पांङ्ग  र अम्बास गाउँमा खानेपानीकाे चरम समस्या देखिएको छ । वर्षायामकाे समयमा पनि खानेपानीको चरम समस्या देखा पर्न थालेपछि हिँउद याममा खानेपानीको हाहाकार हुनसक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन्।

स्थानीय बासिन्दाका अनुसार २०४३ सालमा (UNICEF) युनिसेफ नामक संस्थाले निर्माण गरिदिएको भुत्याए खाेला खानेपानी आयोजनाकै भरमा करिब २०० घरधुरी निर्भर रहेपनि अहिले मुहानको सहि संरक्षण तथा मर्मत सम्भार नहुँदा खानेपानीको चरम समस्या निम्तिएको हो ।

२०७० मा जिल्ला खानेपानी विकास आयोजनाद्वारा उक्त मुहान पुनर्निर्माण भएपनि २०७२ सालको भुकम्प पश्चात्, मुहानमा पनि सुक्दै गएको र ट्यांकी समेत चर्किएका कारण थप समस्या निम्तिएकाे उक्त खानेपानी उपभोक्ता एवम् , चाैकीदार गणबहादुर बुढाथोकी बताउँछन् ।
उनका अनुसार ०७२ काे भुकम्प पश्चात् उक्त मुहान समेत चर्किएको , काहिँ कतैबाट पनि मर्मत सम्भार नभएको , पानी सुक्दै गएको र भएको पानी पनि मुहान नजिकैका खेतबारीमा लगाउने गरेपछि यो समस्या निम्तिएकाे हो ।

गत निर्वाचनताका विभिन्न राजनितीक दलकाे चुनावी नारा समेत बनेको खानेपानी समस्या अझैसम्म कायम नै रहेको र आगामी निर्वाचनमा पनि खानेपानी समस्या चुनावी नारा बन्ने स्थानीय युवाहरु बताउँछन् ।

हाल उक्त मुहानकाे पानी बिहान र बेलुकाकाे समयमा वितरण गर्दै आएपनि पर्याप्त मात्रामा खानेपानी समेत उपभोग गर्न नपाएको र उक्त मुहान धेरै फाेहाेर रहेका कारण भएको पानी समेत दूषित रहेको पाइएको छ । उक्त विषयमा सम्बन्धित निकायसँग बुझ्दा पानी जाँच्ने मेसिन समेत नभएको पाइएको छ।

भुकम्पका कारण नजिकै रहेका कुवा , पँधेराे र धारा सुक्दै गएपछि स्थानीय बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ । निर्माणाधीन चर्चित गेलु लिफ्ट सिचाइ खानेपानी आयोजनाकाे काम समेत अलपत्र परेपछि स्थानीय बासिन्दा अन्योलमा परेका छन्।

तत्कालीन समयमा रामेछाप जिल्लाका २७ भन्दा बढी गाविसलाई सरकारले नै सुख्खग्रस्त गाविस घोषणा गरेको थियोे । ०७२ सालमा गएको विनाशकारी भुकम्पको कारण भएको खानेपानीको मुहान पनि सुक्दै गएपछि समस्यामाथि समस्या थपिएको छ ।

प्रतिकृया दिनुहोस्