News Portal

अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल

रातोपोस्ट
९१९ पटक

काठमाडौं, असोज १० । चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण छ ।

जसका कारण तरकारी, चिनी, खाद्यान्न, लत्ताकपडालगायतका उपभोग्य वस्तुको मूल्य ह्वात्तै अकासिन पुगेको हो । बजार, यात्रा र वितरण प्रणालीमा सरकारी निकायको उपस्थिति कमजोर हुँदा र कुशासन मौलाउँदा यस्तो अवस्था आएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । बजारमा वस्तुहरूको मूल्य मनलाग्दी बढाइएको छ भने यात्रा गर्दा समेत सर्वसाधारण ठगिने क्रम बढेको छ ।

दसैं नजिकिँदै गर्दा व्यापारीले लत्ताकपडामा समेत अस्वाभाविक मूल्यवृद्धि गर्दा सरकारी निकाय मूकदर्शक बनेको आरोप सर्वसाधारणको छ । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि हुँदा सर्वसाधारणमा सरकारी निकायप्रति आक्रोश बढेको छ । कोभिडका कारण कैयौंको रोजगारी गुमेको छ भने आर्थिक अवस्था पनि दिन प्रतिदिन कमजोर हुँदै छ । आम्दानीका स्रोतहरू सुक्न थालेपछि बिहान बेलुकीको जोहो टार्न धौधौ परिरहेको अवस्थामा दैनिक उपभोग्यका वस्तुको मूल्य एकाएक अकासिन पुग्दा सर्वसाधारण नागरिक अत्यधिक मारमा पर्न थालेका हुन् ।

माछापोखरीकी सम्झना राईको परिवारले हिजोआज तरकारी खान छाडेको छ । ज्यालामजदुरी गरेर चार जना परिवारको भरणपोषण गर्दै आइरहेकी राईले तरकारीको मूल्य अत्यधिक बढेपछि दाल र भात मात्रै खाने गरेको बताइन् ।‘मेरो जस्तो समस्या धेरैलाई परेको छ, तरकारी खान नसक्ने अवस्था आएको छ,’ राईले राजधानीसँग भनिन् ।

राजधानीकै बालाजुका हरिशरण शर्मा पनि दैनिक उपभोग्य वस्तुको मूल्य अकासिँदा जीवन धान्न नै मुस्किल हुँदै गएको बताउँछन् । पेसाले गाडी चालक रहेका उनलाई पाँच जनाको परिवार धान्न निकै मुस्किल हुँदै गएको छ । भन्छन्, ‘तरकारीको मूल्य चार गुणासम्म बढेको छ, अन्य खाद्य वस्तुको मूल्य पनि त्यसरी नै बढेको छ ।

बजारमा मनलाग्दी हुँदा समेत सरकारका कुनै निकायलाई केही चासो छैन,’ शर्मा भन्छन्, ‘सरकार के हेरेर बसेको छ रु हाम्रो चुलो बल्नै मुस्किल भइसक्यो रु’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्