News Portal

मन्त्रालय टु्क्र्याए कांग्रेस विरोधमा उत्रिन्छ : रामचन्द्र पौडेल

रातोपोस्ट संवाददाता
८५८ पटक

काठमाडौं, असोज १५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रालय नफुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई आर्थिक भार पार्ने गरी मन्त्रालय नफुटाउन आग्रह गरेका हुन् ।

नेता पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालय फुटाउने गैरजिम्मेवार प्रवृतिलाई नयाँ संविधानले अन्त गरेको बताए ।‘देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो’, उनले भने ।

उनले देशको सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोलेर दरबन्दी बिना पनि मनलाग्दी आफ्ना मान्छे भर्ने काम सरकारबाट भएको आरोप लगाएका छन् । ‘देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन्’, उनले भने ।

त्यस्तै नेता पौडेलले देशको बजेटले कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्था रहेको बताए । जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन सरकारले ध्यान नदिएको आरोप उनको छ । नेता पौडेलले सरकारले मन्त्रालय फुटाउने काम गरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

‘कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था छ । जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकीरहेको अवस्थामा फेरी मन्त्रालय बढाउने काम गरियो भने हामी त्यसको घोर बिरोधमा उत्रिन्छौं’, उनले भने । प्रधानमन्त्री अ‍ोलीले केही मन्त्रालय फुटाएर मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्