News Portal

राखेपले माग्यो क्यानसँग स्पष्टीकरण : खेलाडी वर्गीकरणको आधार के ?

रातोपोस्ट संवाददाता
१५४४ पटक

काठमाडौं, असोज १६ । नेपाल क्रिकेट संघ (क्यान)लाई खेलाडीको वर्गीकरण गरी केन्द्रीय सम्झौतामा आबद्ध गर्दाका आधार र वर्गीकरणमा नपर्नुको आधारसहित स्पष्टीकरण दिन राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भनेको छ।

राखेपले खेलाडी वर्गीकरणको विषय सञ्चार माध्यममार्फत मात्र थाहा भएको र वर्गीकरण गर्ने काम राम्रो भएको भन्दै त्यसको आधार ७ दिनभित्र स्पष्ट पार्न भनेको हो।

खेलाडी वर्गीकरणमा पुनर्विचार गरिने जनाइसकेको क्यानलाई राखेपले पनि स्पष्टीकरण सोधेको हो। क्यानले यसअघि पुरुष तथा महिला खेलाडीको वर्गीकरण गर्दै केन्द्रीय सम्झौतामा आबद्ध गर्दा कतिपय खेलाडीको नाम छुटेको र कतिको वर्गीकरण नमिलेको भन्दै असन्तुष्टी आइरहेको थियो।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरणको आधार प्रस्ट हुनुपर्ने भन्दै संघले निर्णय पुनर्विचार गर्न गएको सोमबार आग्रह गरेको थियो । जसअनुसार खेलाडी वर्गीकरण निर्धारण समितिलाई क्रिकेट टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग छलफल गरी सुझावसहितको वर्गीकरण प्रतिवेदन पेश गर्न क्यानले अनुरोध गरिसकेको छ।

सिप्यानले यस सम्बन्धमा राखेपको समेत ध्यानाकर्षण गराएको थियो। ‘वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर अबलम्बन गरिनु क्रिकेट विकासका लागि जरुरी छ। यसलाई तर्कसम्मत र त्रुटिरहित बनाउन तथ्यपरक, बस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता देखिएको छ।’ जसपछि नै राखेपले स्पष्टीकरण सोधेको हो।

गएको ६ गते चितवन भरतपुरमा बसेको नेपाल क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण गर्दै केन्द्रीय सम्झौतामा आबद्ध गरेको थियो। जहाँ क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजत्वमा केन्द्रीय सदस्यहरु अमितविर पाण्डे र दुर्गाराज पाठक सदस्य रहेको ‘खेलाडी वर्गीकरण निर्धारण समिति’ले पेश गरेको वर्गीकरण क्यान बोर्ड बैठकले पारित गरेको थियो।

प्रतिकृया दिनुहोस्