News Portal

“श्रीमती” हत्याको आरोपमा “श्रीमान” पक्राउ

रातोपोस्ट संवाददाता
१५४२ पटक

झापा,असाेज १७।  झापाको गौरादह-१ की ६५ वर्षीया मनमाया भण्डारीको हत्यामा संलग्न भएको आरोपमा उनकै श्रीमान भीमबहादुर तीनदिन पछि पक्राउ परेका छन् । सोमबार रगताम्य अवस्थामा आफ्नै घरभित्र मृत फेला परेकी मनमायाको घाँटी , निधार र टाउकोमा चोट देखिएको छ । शव घरभित्रको खाटमुनि दुवै हात पछाडि बाँधिएको अवस्थामा फेला परेको थियो ।                       
घटना भएदेखि नै प्रहरीले मनमायाका परिवारका सदस्यहरुलाई निगरानीमा राखेको थियो । गत सोमबार घरमै रहेका वेला भण्डारीको बिभत्स हत्या भएको थियोे भने प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हथौड़ा प्रहार गरी हत्या गरिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको थियोे।
पक्राउ परेका भिमबहादुरलाई बिहीबार जिल्ला अदालत झापाबाट सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनास्थलको अध्ययन र पोस्टमार्टम रिर्पोटका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए ।                                           

‘पोस्टमार्टम रिपोर्टमा देखिएको मनमायाको मृत्यु भएको समयमा भीमबहादुर त्यहीँ थिए भन्ने देखिन्छ । उनले प्रहरी र मिडियामा १ बजे घरबाट निस्किएको भनेका छन् । पोस्टमार्टम रिपोर्टले  लगभग त्यही समयमा हत्या भएको देखाउँछ । त्यही कारण हामी उनले नै श्रीमतीको हत्या गरेको निष्कर्षमा पुगेका हौँ’, उनले भने, ‘स्थानीय, छरछिमेक र आफन्तसँगको बयानका आधारमा पनि त्यही देखिन्छ ।’

दम्पत्ति लकडाउनभरि ६ महिना कमल गाउँपालिकाको घरमा रहेको र उनीहरू हत्या भएको दिन बिहान १० बजे मात्र गौरादहको घरमा आइपुगेको प्रहरी अनुसन्धानमा खुलेको छ । यद्यपि उनले श्रीमतीको हत्या स्वीकार भने नगरेको प्रहरीले जानकारी दिएको छ।                           

‘प्राप्त प्रमाण र पोस्टमार्टम रिपोर्टका आधारमा निष्कर्ष निकालेका हौँ । मनमाया र भीम ६ महिनापछि गौरादह आएका थिए । उनको कोहीसँग दश्मनी छैन । फेरि गाउँबाट ६ महिनापछि आएर कम्तीमा घर त सफा गरिन्छ नि ! त्यस्तो केही पाइएन । उनी बाहिरसम्म निस्किनन्’, उनले भने, ‘उनको घरमा चोरी पनि भएका छैन । हराएको भनिएको तिल्हरी पनि घरको कुनामा भेटियो । रिपोर्ट र यी आधार हेर्दा त्यही देखिन्छ । त्यसकारण हामीले म्याद थप गरेर अनुसन्धान सुरु गरेका हौँ ।’
अभियुक्त भीमबहादुरले अपराध स्वीकार नगरेका कारण हत्या के कारणले भएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएका छ ।

प्रतिकृया दिनुहोस्