
मेचिनगर, २० असोज। विभिन्न प्रलाेभन देखाएर आफ्नै साथीले भारततर्फ लैजाँदै गरेकाे अवस्थामा झापाकाे सिमा नाका काकडभिट्टा क्षेत्रबाट तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र माइती नेपालकाे सहकार्यमा उनीहरुको उद्धार गरी माइती नेपालमा राखिएकाे इप्रका काकडभिट्टाका डिएसपी राजेन्द्र पाेखरेलले जानकारी दिए।
उद्दार गरिएका युवतीहरु सुनसरी, झापाकाे गौरादह नगरपालिका र गोरखा घर भई हाल भत्तपुर बसाेबास गर्ने युवती रहेकाे माइती नेपालले जनाएको छ । १८ बर्ष उमेर समूह रहेका तीनै जनालाई आफ्नै साथीले भारतको पानीटंकी दिदीको घर भएको र साेही स्थानमा जागिर लगाईदिने प्रलोभनमा पारेर सीमा क्षेत्रसम्म बोलाएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए ।
उनीहरु सोमबार साँझ सीमाक्षेत्रमा घुम्ने बहाना बनाएर भारततर्फ जान लागेको अवस्थामा काँकडभिट्टाबाट उद्धार गरिएको र कोरोना महामारीको भयावह अवस्थामा समेत मानव तस्करहरु सीमा क्षेत्रमा सक्रिय रहेको घिमिरेले बताए ।