News Portal

काँकरभिट्टामा संयुक्त अनुगमन, बजारमा म्याद गुज्रिएका खाद्य वस्तु विक्री 

रातोपोस्ट संवाददाता
५६८ पटक

झापा, २० असोज । झापाको काँकरभिट्टामा स्थानीय सरकार र जिल्लाको टोलीले संयुक्त अनुगमन गर्दा बजारमा भद्रगोल फेला पारेको छ ।
मङ्गलवार अनुगमन टोली जुन पसल गए पनि त्यहाँ मूल्य सूची थिएन । प्रशस्त मात्रामा म्याद गुज्रिएका उपभोग्य वस्तु विक्री भइरहेका थिए । कहिले उत्पादन भएका हुन् भन्ने टुङ्गो नभएका खाद्य वस्तुहरु बेच्न राखिएका थिए ।

मेचीनगरस्तरीय अनुगमन टोलीकी प्रमुख मीना उप्रेतीले उपभोग्य मिति, उत्पादन मिति र उत्पादकको विवरण खुल्ने लेवल दुरुस्त नभएका खाद्य वस्तुहरु बरामद गरिएको बताइन् । दसैं तिहार लगायतका चाडपर्वको मुखमा व्यापारीले खाद्य बस्तुको कृत्रिम अभाव गर्ने र मूल्य बृद् गर्ने विगतमा देखिएको कारण त्यसलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको मेचीनगर उपप्रमुख समेत रहेकी उप्रेतीले बताएकी छन् ।

काँकरभिट्टाका सुशिला भेराइटिज, डीसी मल्टिस्टोर,  द न्युज भेराइटिज, मोहन किराना पसल,  मानसी ट्रेडर्सलगायतका दर्जनौं किराना, कस्मेटिक र कोल्ड स्टोरमा अनुगमन टोली पुगेको थियो । बजारबाट अखाद्य, म्याद गुज्रिएका र प्रतिबन्धित लाखौं रुपैयाँ मूल्य बराबरका खाद्य सामग्री जफत गरिएको र व्यापारीहरुलाई पहिलोपटक सम्झाइबुझाई गरेर छाडिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए ।

अनुगमन टोलीमा मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मेची उद्योग वाणिज्य सङ्घ र इलाका प्रहरी कार्यालयको प्रतिनिधित्व रहेको थियो ।

जतिपटक अनुगमन गरे तापनि उही कमजोरी दोहोरिने गरेको छ । व्यवसायीहरुले मूल्य सूची अद्यावधिक नगरेको, व्यावसायिक प्रमाण पत्र समयमै नवीकरण नगरेको, आफ्ना पसलमा नापतौलका लागि राखिएका विद्युतीय कम्युटर काटाको इजाजत नलिइएको,  एउटा व्यवसाय दर्ता गरेर अन्य प्रकृतिको व्यवसाय सञ्चालन गरिरहेको जस्ता कमजोरी बर्षौदेखि दोहोरिदै आएको अनुगमनमा सहभागी मेचीनगर प्रेस क्लवका अध्यक्ष लक्ष्मी उप्रेती बताउँछन् ।

प्रतिबन्धित पेयपदार्थ, खानेतेल र खुल्ला नुन समेत बजारमा पाइएको लगायतका वस्तु नेपाली बजारमा फेला पर्ने गरेको टोलीले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले चाडवाडमा अत्यधिक माग हुने मिठाइमा मानव शरीरमा हानी गर्ने विभिन्न खाल अखाद्य रङको प्रयोग नगर्न व्यवसायीलाई सचेत गराइएको बताए ।

प्रतिकृया दिनुहोस्