News Portal

उपचार खर्च तिर्न नसकेर ह्याम्स अस्पतालमा बन्दी युवक १५ दिनपछि ‘डिस्चार्ज’

रातोपोस्ट
४४८ पटक

काठमाण्डाै,२२ असाेज । उपचार खर्च तिर्न नसकेर काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बन्धक बनेका धादिङ गल्छी गाउँपालिका–४ का चन्द्रबहादुर तामाङ (२४ वर्ष) १५ दिनपछि ‘डिस्चार्ज’ भएका छन् । दोलखास्थित सासा हाइड्रोपावरमा काम गर्ने क्रममा उनी २५ साउनमा सुरुङभित्र दुर्घटनामा परेका थिए ।

अस्पतालको नौ लाख ९० हजार रुपैयाँ बिल तिर्न नसकेपछि उनी निको भएर पनि बेडमै बस्न बाध्य बनाइएका थिए । करिब दुई महिनादेखि अस्पतालमा रहेका तामाङको उपचार खर्च उनी कार्यरत हाइड्रोपावर कम्पनीले तिरेपछि अस्पतालले बुधबार घर पठाएको हो । उनको टाउको र मुखमा चोट लागेको थियो । भाइको हेरचाहमा खटिएकी विना लामाका अनुसार कम्पनीले उपचार खर्च तिरेको छ भने ठेकदारले थप औषधि खर्च दिने बाचा गरेका छन् ।

अस्पतालले थुनेर राख्यो बिरामी
ह्याम्स अस्पतालको नवौँ तला, बेड नम्बर ९०९ । चन्द्रबहादुर तामाङ यो बेडमा सुतेको दुई महिना भएको थियो । डाक्टरहरूले ‘निको भइसक्यो, घर जानुहोस्’ भन्दा पनि तामाङलाई अस्पतालले बन्दी बनाएर राखेको थियो ।

तामाङ लकडाउन अघिसम्म धादिङबाट रुसुवागढीसम्म ट्रक चलाउँथे । लकडाउनले नाका बन्द भएपछि तामाङको काम रोकियो । बुबा, आमा र दुई बहिनीसहित पाँचजनाको परिवार पाल्नुपर्ने जिम्मेवारी भएका तामाङको रोजगारी खोसियो ।

साथीहरूसँग हारगुहार गरेपछि उनले दोलखास्थित ‘सासा हाइड्रोपावर कम्पनी’मा काम पाए । लकडाउनमा पनि काम पाइयो भनेर खुसी हुँदै तामाङ गत जेठमा दोलखा पुगे । २५ साउनमा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा तामाङको टाउकोमा अचानक ढुंगो बज्रियो । उनी बेहोस भए । हेलिकोप्टरबाट उद्धार गरेर उनलाई त्यही दिन ह्याम्स अस्पताल ल्याइयो । ११ दिन आइसियूमा राखेपछि उनको होस आयो । त्यसपछि वार्डमा सारेर उपचार भयो । स्वास्थ्य अवस्था पनि सामान्य बन्यो । तर, उपचारमा लागेको नौ लाख ९० हजार रुपैयाँ तिर्न नसक्दा उनी अस्पतालमा बन्दी बन्नुपर्‍यो ।

‘परिवार सबै ज्यालामजदुरी गर्छन्,’ तामाङको हेरचाह गर्न आएकी छिमेकी बिना लामाले भनिन् । कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको छँदै गाडी चलाउन थालेका तामाङ भन्छन्, ‘आफैँ तिर्न सक्ने भए त यसरी कैदी बनेर किन बस्नुपथ्र्यो र ?’ ६ कक्षासम्म पढेका तामाङले ट्रक चलाएरै परिवार पालिरहेका थिए । बहिनीलाई स्कुल पनि पढाइरहेका थिए । दुर्घटनामा परेर अस्पताल भर्ना भएपछि उनको तलब पनि रोकिएको छ ।

अस्पतालले उनलाई पैसा छिटो तिर्न दबाब दिँदै आएको थियो । १० लाख होइन, उनी १० रुपैयाँ तिर्न सक्ने अवस्थामा थिएनन् । तामाङलाई काममा लगाउने ठेकेदार अस्पतालमा ९० हजार रुपैयाँ धरौटी राखेर सम्पर्कविहीन भएका थिए ।अाजकाे नयाँ पत्रिका दैनिकबाट।

प्रतिकृया दिनुहोस्