News Portal

दशैं तथा संरक्षण भत्ता वितरण अभियानमा सहारा

रातोपोस्ट संवाददाता
५६१ पटक

मेचीनगर, असोज २७ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टा सेवा केन्द्रले दशैँ तथा संरक्षण भत्ता वितरण गरेको छ । उक्त केन्द्रले काँकरभिट्टाको साठीबिघे र रमाइलो टोलमा एकल महिला, एकल पुरुष, ज्येष्ठ नागरिक, ज्येष्ठ सदस्य पोषण, अशक्त र अपाङ्गता भएकालाई भत्ता वितरण गरेको हो ।

सेवा केन्द्रका प्रमुख खेमराज पुरीका अनुसार काँकरभिट्टामा १६ जना एकल महिला शेयर सदस्यलाई एक लाख २८ हजार र ज्येष्ठ नागरिक पोषण भत्ता एकजनालाई ६ हजार रुपैयाँ वितरण गरिएको हो ।

लघुवित्त कार्यक्रम अन्तर्गत भानु सहारा महिला समूहकी सदस्य सुमित्रा दाहालको निधन भएकोमा २६ हजार कर्जा मिनाह गरी रकम हस्तान्तरण गरिएको उनले बताए । कर्मचारी यादव घिमिरेले सञ्चालन गरेको सो कार्यक्रम अनुगमन अधिकृत घनश्याम रायको प्रमुख आतिथ्यतामा भएको थियो ।

गत बिहीबार लक्ष्मीपुर सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरुवात गरिएको बताइएको छ । यसअघि सहाराले लक्ष्मीपुरमा संस्थाका ५७ जना सदस्यलाई ४ लाख ३० हजार रुपैयाँ वितरण गरेको छ । कोरोना भाइरस महामारीका कारण सहाराले घर­घरमा गएर भत्ता वितरण गर्दा सहाराप्रति खुशी व्यक्त गरेका थिए ।

संस्थाले दसैँ तथा संरक्षण भत्ताबापत ५३ लाख ७६ हजार रुपैयाँ वितरण गर्न लागेको रायले जानकारी दिए । संस्थाले कोभिड- ­१९ महामारीका बेला राहत वितरण, ट्राफिक सचेतना, सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम, आँखा परीक्षण शिविर सञ्चालनलगायत ३९ वटा कार्य गरिसकेको जनाइएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत यसवर्ष झापा र मोरङमा भत्ता वितरण गरिने संस्थाले जनाएको छ । अधिकृत रायका अनुसार यस वर्ष ६९५ जनालाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर वितरण गरिएको छ । सबैभन्दा बढी ४० लाख ८० हजार रुपैयाँ ५१० जना एकल महिलालाई वितरण गरिएको छ ।

संस्थाले सदस्यको स्वास्थ्य सुरक्षाका लागि ‘जीवन वरदान’ नामक कार्यक्रम लागू गरेको छ । यसअन्तर्गत सदस्य बनेकाले क्यान्सर, मिर्गौला, मुटुलगायतका घातक रोग लाग्दा समेत उपचार खर्च पाउने गरेका छन् । सदस्य संख्या र पूँजीका हिसाबले सहारा देशकै प्रमुख सहकारी हो ।

प्रतिकृया दिनुहोस्