News Portal

लुटपाट पश्चात हत्या गरेको अभियोगमा ३ जना पक्राउ

रातोपोस्ट संवाददाता
५१४ पटक

काठमाडौं, २८ असोज । लुटपाट पश्चात हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने रामेछाप सुनापती गाउँपालिका-३  घर भएका ६१ वर्षीय चन्द्र बहादुर योञ्जनको साथबाट सुनको ब्रासलेट र मोबाइल लुटी हत्या समेत गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा काठमाडौं थलि बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ लेखर्क घर भएका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, काठमाडौं महानगरपालिका-७ वौद्ध बस्ने सिन्धुपाल्चोक चौतारा बतासे नगरपालिका-२ घर भएका २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछाप धोवि गाउँपालिका-५ घर भएका २७ वर्षीय प्रेम तामाङ रहेका छन् ।


असोज २१ गते दिउँसो चन्द्रको पसलमा उनीहरुले वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको भन्ने बहाना बनाई जग्गा विक्रीबाट आउने फाइदा बाड्नुपर्छ भनी प्रलोभनमा पारी पसलदेखि १ किलोमिटर पर बिडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी उनको साथमा रहेको उक्त ब्रासलेट र मोबाईल समेत लुटि फरार भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चन्द्रको ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा गत बिहीबार मृत्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्न महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।


अनुसन्धानको क्रममा मृतक चन्द्रले कामी लामालाई दिनुपर्ने बाँकी रकम दिन आनाकानी गरेपश्चात चन्द्रलाई कुटपिट गरेर भए पनि रकम असुल्ने नियतले कामी लामाले असोज १८ गते काठमाडौं नयाबस्तीमा रमेश र प्रेमसँग योजना बनाई चन्द्रको घर पहिचान गरेपश्चात असोज २१ गते दिउँसो जग्गा हेर्ने बहानामा उक्त धानखेतमा लगि उनीहरुले कुटपिट गरेको अनुसन्धानबाट खुल्न आएकाे अपराध महाशाखाले जनाएको छ ।
उनीहरुको साथबाट घटनामा प्रयोग भएको बा.९६ प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल १ थान, सुनकाे  बिक्रीबाट प्राप्त रकम १ लाख ५५ हजार रुपैयाँमध्ये ५४ हजार ६ सय रुपैयाँ, १ थान हेल्मेट र १ तोला २ लाल गालेको सुन समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्