News Portal

आफ्नै छोरीको साथीलाई बलात्कार गरी हत्या, १४ दिनपछि पक्राउ

रातोपोस्ट संवाददाता
१०६२ पटक

रौतहट, २९ असोज । प्रहरीले आफ्नै छोरीकी मिल्ने साथीको बलात्कार गरी हत्या गर्ने बुबा नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार रौतहटको वृन्दावन नगरपालिका वडा – ४ हर्दिया पल्टुआका ४५ वर्षीय चुनु साह तेलीलाई नियन्त्रणमा लिइएको हो ।

जिल्लाकै गढिमाई नगरपालिका वडा -१ समनपुर टोलमा घरभई वृन्दावन नगरपालिका वडा- ४ मामाघरमा बस्दै आइकी १४ वर्र्षीया बालिकाको शव यही असोज १६ गते गाउँकै उँखुबारीमा फेला परेको थियो ।

उक्त घटना लगतै प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले गरुडामा लुकिछिपी बसिरहेका अवस्थामा चुनु साह तेलीलाई पक्राउ गरिएसँगै हत्याको रहस्य खुलेको हो ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईका अनुसार मृतक बालिका नियन्त्रणमा परेका तेलीको आफ्नै छोरीको मिल्ने साथी थिइन् । उनको घरमा आइरहने र सोही क्रममा तेलीको मृतक बालिका प्रति कुदृष्टि रहेको अनुसन्धानको क्रममा खुलेको छ ।

उक्त दिन तेलीले बालिका एक्लै उँखु खेतमा घाँस काट्न गएको मौका छोपेर प्रलोभनमा पारेर जवरजस्ती करणी गरेका र बालिकाले आफूमाथि भएको कुकृत्यको बारेमा अरुलाई भनिदिने भनेपछि डरले घाँटी थिचेर हत्या गरेका प्रहरी उपरीक्षक प्रसाईले जनाए ।

नियन्त्रणमा परेका तेलीले प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ । उनीमाथि रौतहट जिल्ला अदालत गौरबाट १५ दिनको म्याद थप गरेर थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्