News Portal

आजबाट बडादसैं सुरु, घटस्थापनाकाे शुभ मुहुर्त ११:४६ मा

रातोपोस्ट संवाददाता
९१७ पटक

काठमाडाैँ, ०१ कात्तिक।  आज घटस्थापना अर्थात्, नवरात्रीकाे प्रथम दिन ।  असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ ।  असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित जमरा छरेर  घटस्थापना गरिन्छ । विधिपूर्वक शक्तिकी देवी मानिने दुर्गा माताको आह्वान गरी पूजारम्भ गरीन्छ।

नवरात्रको पहिलो दिन आज घटस्थापनाको साइत आज बिहान ११ : ४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक  समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनानुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको  समितिका अध्यक्ष प्रा‍. डा. रामचन्द्र गौतमले बताए ।

आजकाे दिन नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्वक राखेर त्यसमाथि जौ,धान,मकै,  गहुँ आदि समावेश गरी जमरा  रोपिन्छ ।

विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ ।

दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस्