News Portal

‘एयर होस्टेज वा नर्स बन्ने सपना अन्तै मोडियो’ -“अमिता गिरी”

रातोपोस्ट संवाददाता
१२७८ पटक

पूर्वी नेपालको झापा जिल्ला खेलकूदका दृष्टिले उर्वरभूमि मानिन्छ । अझ नेपाली महिला राष्ट्रिय क्रिकेटमा यो जिल्लाले आफ्नो वर्चश्व कायम गर्दै आएको छ ।

झापामा पनि विशेषत मेचीनगरको वडा नम्बर ६ दक्ष खेलाडी उत्पादन गर्ने वडाको रुपमा चर्चित छ । नेपाली क्रिकेट क्षेत्रमा मात्रै नभएर ब्याडमिन्टनमा समेत यस क्षेत्रले राष्ट्रिय खेलाडी उत्पादन गरेको छ । जेसिका गुरुङ, सुनाइना मुखिया, अमिता गिरीलगायतका खेलाडी यसै क्षेत्रका उत्पादन हुन् । कोभिड­१९ को महामारीका कारण हाल अधिकाँश खेलाडी गृहनगरमै छन् ।

पछिल्लोसमय गृहनगर काँकरभिट्टामा रहेकी ब्याडमिन्टन खेल विधाकी राष्ट्रिय खेलाडी अमिता गिरी (वर्ष २५) निरन्तर अभ्यासमा देखिन्छिन् । गिरीले विभिन्न देशमा आयोजना भएका २० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरेकी छन् ।

उनलाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत काँकरभिट्टा­विर्तामोड सडकखण्डमा दौडिरहेको देखिन्छ । नेपाल आर्मीको टीमबाट विगत ८ वर्षदेखि निरन्तर ब्याडमिन्टन खेल्दै आएकी गिरीसँग रातो पोष्टका लागि प्रविण अधिकारीले गरेको संक्षिप्त कुराकानी ।

स्वागत छ यहाँलाई रातो पोष्ट संवादमा ।

धन्यवाद छ यहाँलाई ।

समय कसरी ब्यतित गर्दै हुनुहुन्छ ?

निरन्तर अभ्यासमै ब्यस्त छु । बिहानको समय दैनिक १२ किमि दौडिने गरेकी छु ।

खेल क्षेत्रमा प्रवेश गरेपछि धेरै खेलाडीले अध्ययनलाई निरन्तरता दिन सकेका छैनन् । खेल जीवनले तपाईंको अध्ययनलाई कत्तिको असर पुर्याएको छ ?

खेल सँगसँगै मैले अध्ययनलाई पनि अगाडि बढाएकी छु । खेल क्षेत्रमा प्रवेश गरेपछि अध्ययनलाई धेर थोर असर त पर्छ नै । ब्यस्तताकै बावजुद पनि मैले बीबीए अध्ययन पूरा गरेँ । समय ब्यवस्थापन गर्दै औपचारिक अध्ययनलाई निरन्तरता दिने सोचमा छु ।
काँकरभिट्टा क्रिकेटको शहरका रुपमा परिचित छ । यसै ठाउँमा हुर्किनुभएकी तपाईंले ब्याडमिन्टन रोज्नुको कारण ?

वास्तवमै मेचीनगर ६ लाई क्रिकेटको शहर पनि भन्ने गरिएको छ । यस वडाले क्रिकेटका लागि मात्रै १ दर्जन बढी राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ । घर नजिकै ब्याडमिन्टनको ट्रेनिङ सेन्टर थियो । त्यहाँ म दैनिक रुपमा अभ्यास गर्ने गर्थेँ । मेरो खेल प्रतिभा देखेर सबैबाट हौसला पाउँदै गएँ र, विभिन्न प्रतियोगितामा भाग लिएँ र सफलता पनि हाँसिल गरेँ ।

मेरो त्यही रुचि र लगावका कारण यो स्थानमा आइपुगेँ ।

खेल जीवनमा तपाईँको सबैभन्दा खुशीको क्षण ?

पाकिस्तानमा सम्पन्न इन्टरनेश्नल गेममा फाइनल पुग्दाको क्षण मेरा लागि सबैभन्दा खुशी र अविष्मरणीय रह्यो । म त्यो दिनलाई कहिल्यै भुल्न सक्तिन । जसले मलाई सदैव उर्जा थपिरहन्छ ।

खेल जीवनमा तपाईंको दुःखद क्षण ?

सातौं राष्ट्रिय खेलकूद प्रतियोगितामा पराजित हुनुपर्दा मलाई निक्कै नै दुःख लागेको थियो ।

तपाईँको खेल जीवनमा पारिवारीक सपोर्ट कस्तो रह्यो ?

सुरुमा बाबाको सपोर्ट थिएन । बाबा अफिस गएपछि लुकीलुकी ट्रेनिङमा जान्थेँ । सय रुपैयाँको र्याकेट (ब्याट) किन्नेसम्म अवस्था थिएन । यस्तो अवस्थामा फुपू सावित्रा गिरीको राम्रो सपोर्ट रह्यो । जब मैले विभिन्न प्रतियोगितामा सहभागी भएर सफलता प्राप्त गरेँ, त्यसपछि सिंगो परिवारबाट सपोर्ट पाउन थालेँ ।

खेल क्षेत्रमा आउनु भन्दाअघि भविष्यमा के बन्ने सपना थियो ?

खेल क्षेत्रमा आउँछु भन्ने त सोचेकै थिइँन । खेल जीवन सुरु गर्नुअघि एयर होस्टेज वा नर्स बन्ने सपना थियो । तर, मेरो सपना अन्तै मोडियो ।

तपाईं राष्ट्रिय खेलाडी बनिसक्नुभएको छ, यो स्थानसम्म आइपुग्दा स्थानीय सरकारबाट के­कस्तो साथ सहयोग पाउनुभएको छ ?

देशको गरिमालाई विश्वसामु स्थापित गर्न खेल क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर, खेलाडीप्रति स्थानीय सरकारको भूमिका अझै स्पष्ट नभएको अनुभूति गरेको छु । अन्य जिल्लाका खेलप्रेमी र अभिभावकबाट हौसला, सम्मान पाइरहँदा आफ्नै गृहनगरले बेवास्ता गर्दा नरमाइलो लाग्दोरहेछ ।

ब्यस्तताका बावजुद पनि समय उपलब्ध गराउनुभएकोमा यहाँलाई धन्यवाद ।

यहाँप्रति पनि हार्दिक आभार ब्यक्त गर्दछु । पाठकसामु मलाई आफ्ना कुरा पस्किने अवसर प्रदान गर्नुभएकोमा रातो पोष्ट परिवारलाई धन्यवाद छ ।

प्रतिकृया दिनुहोस्