News Portal

झापा पछि मोरङमा चाडपर्व लक्षित निषेधाज्ञा

रातोपोस्ट संवाददाता
४५६ पटक

विराटनगर,३ कात्तिक। चाडपर्वमा कोरोना भाइरसको संक्रमण अझै तीव्र रुपमा फैलिने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारबाट लागू हुने गरी जिल्लाभर दसैं लक्षित निषेधाज्ञा जारी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै  प्रशासनले निषेधाज्ञा लगाएको जानकारी दिएकाे छ। यसअघि नै जिल्ला प्रशासन कार्यालय  झापाले पनि चाडपर्वमा हुने भिडभाडबाट कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै कात्तिक २ गतेदेखी १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेकाे छ।

माेरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार निषेधाज्ञा सोमबार (कात्तिक ३) बाट आगामी १५ गतेसम्म जारी रहनेछ। निषेधाज्ञको अवधिमा मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक सिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाइएको विज्ञप्तिमार्फत जनकारी गराइएकाे छ।

जिल्लाभर राति ८ बजेबाट बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीकाबाहेक अन्य सवारीको आवतजावतमा रोक लगाइएको छ। जिल्लाभरका मठ मन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रुपमा आन्तरिक नित्य पूजा, प्रार्थनाबाहेक सामूहिक रुपमा पूजा प्रार्थना, भजन- किर्तन, रथ तथा कलश यात्रा, बलि पूजा, मूर्ति बिर्सजन जस्ता कार्य गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको हो।

प्रशासनद्वारा जारी विज्ञप्ती

प्रतिकृया दिनुहोस्