News Portal

  • भारत- चीन सीमामा शान्ति बिथाेलिएकाे एस जयशंकरकाे स्वीकाराेक्ति

    भारत-चीन सीमा विवाद: भारतीय विदेशमन्त्री एस जयशङ्कर भन्छन्, 'भारत-चीन सीमामा शान्ति र स्थिरता नराम्ररी बिथोलिएको छ'

    बीबीसी न्यूज नेपाली
    ३७० पटक

    भारतका विदेशमन्त्री एस जयशङ्करले भारत-चीन सीमास्थित वास्तविक नियन्त्रण रेखामा शान्ति र स्थिरता ‘नराम्ररी बिथोलिएको’ तथा त्यसबाट दुई देशबीच सम्बन्धमा असर पुगेको बताएका छन्।लद्दाखको सीमामा भारत र चीनबीच पाँच महिनादेखि तनाव जारी रहेको बेला जयशङ्करले सीमाको अवस्थाबारे त्यस्तो टिप्पणी गरेका हुन्। अहिले भारत र चीन दुवै देशले विवादास्पद हिमाली सीमाक्षेत्रमा ५०,००० भन्दा बढी सैनिक खटाएका छन्।

    जयशङ्करले शनिवार आफ्नो पुस्तक ‘द इन्डिया वे – स्ट्र्याटजीज फोर एन अन्सर्टेन वर्ल्ड’ बारे छलफल गर्न आयोजित वेविनारमा भारत-चीन सम्बन्धबारे महत्त्वपूर्ण कुराहरू भने। दुई देशको सम्बन्धमा सुरुदेखि नै धेरै समस्या रहेको तर सन् १९८० पछि व्यापार, यात्रा, पर्यटन र विभिन्न सामाजिक गतिविधिका कारण केही सामान्य भएको उनले बताए।

    “हामी सीमा विवाद समाधान हुनुपर्छ भनिराखेका छैनौँ। हामीलाई यो धेरै गाह्रो र जटिल विषय हो भन्ने थाहा छ। यस विषयमा विभिन्न तहमा वार्ताको प्रयास भएको छ।… दुई देशबीचको सम्बन्धका लागि यो निकै कठिन कुरा हो,” उनले भने।

    “म एउटा अत्यन्त आधारभूत मापकको कुरा गर्दैछु – वास्तविक नियन्त्रण रेखा भएको सीमावर्ती क्षेत्रमा सन् १९८० पछि भए जस्तै शान्ति र स्थिरता कायम हुनुपर्छ।”


    भारत र चीनले विवाद कसरी समाधान गर्लान्?
    जयशङ्करले भने, “यदि शान्ति र स्थिरता नराम्ररी प्रभावित छ भने दुवै देशको सम्बन्धमा प्रभाव पर्नु स्वाभाविक नै हो। हामीले अहिले त्यो देखिरहेका छौँ पनि।”
    ”भारत र चीन दुवै प्रगति गर्दैछन् र विश्वमा ठूलो भूमिका निर्वाह गर्ने आकाङ्क्षा पनि राख्छन्। तर दुवै देशले एकआपसमा कसरी तालमेल राख्छन् भन्ने प्रश्न ठूलो हो।”

    “मैले आफ्नो पुस्तकमा यिनै आधारभूत कुराबारे चर्चा गरेको छु।”

    उनका अनुसार उनले पूर्वी लद्दाखमा तनाव उत्पन्न हुनुअघि गत एप्रिल महिनामै आफ्नो पुस्तक लेखिसकेका थिए।

    भारत र चीन सीमामा लामो समयदेखि तनाव छ। पैँतालीस वर्षपछि सीमामा केही महिनाअघि पहिलो पटक गोली हानाहान पनि भयो।

    तनाव चुलिएको बेला भारतले १०० वटाभन्दा बढी चिनियाँ एपलाई प्रतिबन्ध लगाइदियो।

    विवाद कहिलेदेखि?

    भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ।

    तर चार दशकभन्दा बढी समयपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो।

    दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।
    चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ।

    सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)