News Portal

चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको भारतीय सेनाको दावी

रातोपोस्ट
७८३ पटक

एजेन्सी। पछिल्लाे समय भारत चिन सिमामा शान्ती बिथाेलिँदै गएकाे छ। भारतीय सेनाले पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको खबर सँगै भारत चिन सम्बन्ध अझै चिसिँदै गएकाे अनुमान गर्न सकिन्छ।
भारतीय सेनाले लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै उनलाई चिनियाँ सेनाको जिम्मा लगाइने जनाएको छ ।
‘चिनियाँ सेनाका कर्पोरल वाङ या लङलाई एलएसी पार गरेको अवस्थामा अक्टोबर १९ मा नियन्त्रणमा लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ सेनाले उनको अवस्थाबारे खोजी गरेको छ । स्थापित मान्यताअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई चिनियाँ जनमुक्ति सेनासमक्ष हस्तान्तरण गरिनेछ ।’

चिनियाँ सैनिकलाई मेडिकल सुविधा, अक्सिजन, खाना तथा अन्य सुविधा उपलब्ध गराइएको पनि भारतीय सेनाले जारी विज्ञप्तीमा उल्लेख गरेकाे छ। लद्दाखस्थित सीमा क्षेत्रमा भारत र चीनबीच पाँच महिनादेखि तनाव जारी छ । हाल भारत र चीन दुवै देशले विवादास्पद हिमाली सीमा क्षेत्रमा ५० हजारभन्दा बढी सैनिक खटाएका छन् । सीमा विवादका कारण भारत र चीनबीच लामो समयदेखि तनाव जारी छ । दुई देशीय सीमा क्षेत्रमा करिब डेढ महिनाअघि गोली हानाहान पनि भएको थियो । सीमा क्षेत्रमा गोली चलेको यो चार दशकभन्दा लामो समयपछि पहिलो पटक हो । दुई देशबीच सन् १९६२ मा सीमा विवादका कारण युद्ध भएको थियो । उक्त युद्धमा भारत नराम्ररी पराजित भएको थियो ।

चीनले आफ्नो ३८ हजार वर्गकिलोमिटर क्षेत्र भारतले ओगटेको आरोप लगाउँदै आएको छ । त्यसका लागि हजारौं चिनियाँ सैनिक परिचालन गरिएको भारतको दाबी छ । सीमा समस्या समाधान गर्न दुवै पक्षले तीन दशकमा दर्जनौं पटक वार्ता गरिसकेका छन् । तर पनि ठोस उपलब्धि भने हुन सकेको छैन । तनाव चुलिँदै गएपछि भारतले विभिन्न चिनियाँ कम्पनीले भारतको निर्माण क्षेत्रमा पाएको ठेक्का सम्झौतासमेत रद्द गरिदिएको छ । त्यसका साथै भारतले करिब १ सय २० वटा विभिन्न चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र चीन सीमास्थित एलएसी (वास्तविक नियन्त्रण रेखा) मा शान्ति र स्थिरता ‘नराम्ररी बिथोलिएको’ जनाएका थिए । जसका कारण दुई देशबीचको सम्बन्धमा असर पुगेको जयशंकरको भनाइ छ ।

जयशंकरले शनिबार आफ्नो पुस्तक ‘द इन्डिया वे स्ट्राटेजिज फर अन अन्सर्टेन वर्ल्ड’ बारे छलफल गर्न आयोजित सेमिनारमा त्यस्तो धारणा व्यक्त गरेका हुन् । दुई देशको सम्बन्धमा सुरुदेखि नै धेरै समस्या रहेको भए पनि सन् १९८० पछि व्यापार, पर्यटन र विभिन्न सामाजिक गतिविधिका कारण केही सामान्य भएको जयशंकरले बताए ।

प्रतिकृया दिनुहोस्