News Portal

विकसँगै वेपत्ता प्रहरी जवान साउदको शव पनि मोहना नदीमै भेटियो

७२७ पटक

कैलाली,४ कात्तिक। प्रहरी सहायक निरीक्षक गोबिन्द विकसँगै वेपत्ता रहेका कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको मोहना नदीमै शव फेला परेको छ । शनिबार राती तस्करहरुले प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या गरेपनि जवान साउद भने वेपत्ता थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेकाको प्रारम्भिक बयानका आधारमा जवान साउदको शव फेला परेको जनाएको छ । उनको शव प्रहरी सहायक निरीक्षक विकको शव पाएको भन्दा उत्तरतिर मोहना नदीकै बीचमा बालुवामुनि पुरिएको अवस्थामा फेला परेको हो ।

घटना विवरण अनुसार शनिबार राती असई विकलाई ठूलो परिमाणमा सामान भारततिर तस्करी भइरहेको सूचना आएको थियो । बेलुकीको खाना खाएर, उनी जवान साउदलाई साथमा लगेर मोहना नदी भएको सीमातिर लागे । दुबैजना चढेको मोटरसाइकल बस्तीमा एकजनाको घरमा राखे र तस्करी हुने स्थानमा ढुकी राखे ।

रातीको १० बजेतिर तस्करीको चार डल्लब सामान सीमामा पुग्यो । असई विक र जवान साउदले सो सामान पक्राउ गर्न खोज्दा तस्करसँग मुठभेड भएको प्रहरीको अनुमान छ । असई विकको शव मोहना नदीमा आइतबार बिहान फेला परेको थियो । उनको सोमबार कञ्चनपुरको दोदा नदीमा दाहसंस्कार गरिएको छ । ‘घटनास्थलमा असई विकको स्लिपिङ ब्याग रुखको हाँगोमा झुण्ड्याइएको अवस्थामा भेटिएको थियो, त्यसका आधारमा उनीहरु केही बेर तस्करलाई समात्न ढुकिरहेको प्रष्ट हुन्छ,’ एकजना प्रहरी अधिकृतले भने।

प्रहरीले तस्करीमा संलग्न र हत्यामा संलग्नको पहिचान गरिसकेको छ । ‘केही पक्राउ परेका छन, केही अहिले पनि फरार छन,’ ती प्रहरी अधिकृतले भने। अहिले प्रदेश भरीका अपराध अनुसन्धानमा दख्खल भएका सबैजनालाई परिचालित गरिएको छ ।

तीन महिनाअघि मात्रै अस्थाई प्रहरी चौकीमा खटाइएका असई विक तस्करका लागि कडा रुपमा प्रस्तुत भएका थिए । उनले तीन महिनामा चार पटक तस्करीको सामान बरामद गरेका थिए । जुगेडा क्षेत्र प्रदेशको सदरमुकाम धनगढी भएर सुदूरपश्चिमका ९ वटै जिल्लाका लागि सामान तस्करी हुने स्थान मानिन्छ । त्यहाँ नेपाल र भारतका तस्करहरु राती हतियारसहित तस्करी गर्ने गरेको स्थानीयले बताएका छन् ।

‘कोभिडका कारण दुबै देशको सीमाना बन्द छ, तर तस्कररका लागि कोभिड दुहुनो गाई जस्तै भएको छ, अहिले सामान्य अवस्था भन्दा तस्करी बढेको छ,’ एकजना स्थानीयले भने । ‘तस्करहरुका बारेमा स्थानीय सबैलाई थाहा छ, तर बोल्ने कस्ले ? उनीहरु हतियारसहित राती राती तस्करी गर्छन,’ उनले थपे ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा दुईवटा तस्कर समूहले प्रहरीको हत्या गरेको खुलेको छ । ‘पहिला भेटिएको तस्करको समूहले प्रहरीमाथि आक्रमण गरेको र असई विकको हत्या गरी नदीमा शव फाल्यो, त्यसपछि आएको अर्को तस्करको समूहले बाटोमै जवानको शव भेटेको र त्यसलाई पनि नदीको बीचमा गाढेको जस्तो देखिन्छ,’ एकजना प्रहरी अधिकृतले भने ।

घटना विवरण बारेमा प्रहरीको आधिकारिक भनाई भने बाहिर आएको छैन । घटना भएको दिनदेखि प्रहरीले १३ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । ‘ती मध्ये पनि एकले अर्कालाई नचिन्दा रहेछन, त्यसबाट के बुझिन्छ भने दुई वटा फरक फरक तस्करका समूह मोहना नदीको घाटमा सँगसँगै भेटिए,’ प्रहरी अधिकृतको भनाइ छ ।

अस्थाई प्रहरी चौकी धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा राखिएको छ भने त्यो चौकीले धनगढीको वडा नम्बर ९, १० र १२ को सीमा क्षेत्र हेर्नुपर्छ । धनगढी वडा नम्बर १० को सीमा क्षेत्र (सव पिलस नं. १६४ ए) को आसपासको क्षेत्र तस्करीको मुख्य विन्दु हो ।

अहिले नेपालबाट, मटरको भारी मात्रामा भारततिर तस्करी भइरहेको छ । नेपालमा चाईनाको मटर आउने र त्यो मटर भारत तस्करी हुने गरेको हो । भारतले मटर आयातमा प्रतिवन्ध लगाएको छ । भारतको भन्दा आधा मुल्यमा चीनको मटर पर्ने भएकाले तस्करी बढेको हो । मुठभेड भएको स्थलमा केही मटर पनि खसेकाले, नेपालबाट मटरको तस्करी गर्नेहरुको हत्यामा संलग्नता हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्राेतः अन्नपुर्ण पाेष्ट

प्रतिकृया दिनुहोस्