News Portal

सम्पादकीय-सुरक्षित तरिकाले पर्व मनाऔं

सम्पादकीय
७०९ पटक

कोरोना भाइरस (काेभिड-१९) को कहरकाबीच दशैँको रौनक सबैको घरदैलोमा भित्रिसकेको छ । विभिन्न कारणले परिवारबाट टाढा बस्नु परेकाहरुलाई दशैँले परिवारजन र आफन्तहरुबीच मिलनको अवसर प्रदान गर्छ । तर, यसपालीको दशैं कोरोना महामारीले गर्दा परिवार बाहेक बसेर मनाउन सक्ने अवस्था छैन । ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिएर मङ्गल कामना गर्ने प्रचलन दशैँको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै सुरक्षित तरिकाले हामीले पर्व मनाउनु पर्छ । सरकारले तोकेको मापदण्ड अनुसार हाम्रा पर्वहरुलाई मनाउन सकियो भने मात्रै सुरक्षित हुन सक्छौं ।

प्रकृतिले जति अनुकूलता दिएपनि दशैँ भनेजस्तो सबैलाई सुखद् हुन गाह्रो परिराखेको छ । दशैँ प्रतिवर्ष महँगो सावित हुँदै गएको छ । एकातिर सामान्य जनताको जीवनस्तर खस्केको खस्क्यै छ, अर्कातिर मुठ्ठीभर सम्पन्न परिवारका लागि विलासी जीवन सजिलै उपलब्ध सुलभ छ । नवदुर्गा देवी भगवतीको पूजा आराधना गरेर मातृशक्तिको सम्मान गर्ने धार्मिक संस्कारको गुणगान गाइरहँदा घर, परिवार, समाज र देशैभर महिलाहरु हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधको शिकार भइरहेका छन् । मन्दिरभित्र पुजिने मातृशक्तिको वास्तविक पहिचान हुन सकेको छैन ।

सहिष्णुता, धैर्य, संयम, सहमतीय संस्कार ओरालो लाग्दैछ । अहंकार, इष्र्या, गुटगत स्वार्थ जल्दोबल्दो देखिने वर्तमानले देश, समाज र राष्ट्रकै लागि अनिष्टको पहाड बोकेर धम्क्याइरहे जस्तो प्रतीत हुन्छ । यी सबका बीच बडादशैँ आएको छ । शुभकामना आदानप्रदानको यो श्रृंखलामा उभिएर निराशामात्रै बाँड्न खोजेको होइन । तमाम समस्याकाबीच हाम्रा अगाडि असंख्य सम्भावनाहरु पनि छन् । तसर्थ, हामी आफ्नो भूमिका खोज्न सकौँ । महामारीबिरुद्ध जुझ्न सक्ने साहस, आँट र धैर्यता आओस् । विजयादशमीको अवसरमा हामी हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

प्रतिकृया दिनुहोस्