News Portal

विप्लवद्वारा सरकार विरुद्ध देशव्यापि संघर्षकाे घाेषणा

रातोपोस्ट संवाददाता
१३२२ पटक

काठमाडौँ,५ कात्तिक। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकाे  नेपाल कम्युनिस्ट पार्टीले वर्तमान राज्यव्यवस्था , सरकार राष्ट्र र जनताप्रति ‌ उत्तरदायित्वविहीन र हदैसम्म गैराजम्मेवार बनिरहेको  भन्दै  सरकार विरूद्द देशव्यापि संघर्षकाे घाेषणा गरेकाे छ।

पार्टीका महासचिव विप्लवले आज एक बिज्ञप्ति जारी गर्दै कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत वितरणमा लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम्‌ दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय भएको उल्लेख गर्दै सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको भन्दै  सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष मागसमेत गरेका छन ।

महासचिव विप्लवले बिज्ञप्तिमार्फत राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको बताएका छन्। हाम्रो पार्टी राष्ट्र र जनताको यस सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी  दिएका छन । विप्लवले सरकारको यस्ता गैरजिम्मवार कार्यका विषयहरूमा सबै पक्ष र जनसमुदायहरूले आआफ्नो स्थानबाट पहल गर्न र सङ्घर्षमा सहभागिता र सहयोगकालागि हार्दिक अनुरोध समेत गरेका छन । महासचिव विप्लवले बिज्ञप्तिमार्फत घोषणा गरेका संघर्षका कार्यक्रम अन्तर्गत आगामी कात्तिक १५ गते कोणसभा , कात्तिक १७ गते पर्चा वितरण र कात्तिक २० गते विरोधजुलुस प्रदर्शन रहेको छ । यस बिषयमा महासचिव विप्लवद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समिति प्रेस विज्ञप्ति

१. वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन्पछि झन् उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ । सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन् ।

२. कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पु¥याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो । यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ ।

३. विभिन्न कठिनाइ झेल्दै कोरोना महामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ ।

४. राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको छ । हाम्रो पार्टी राष्ट्र र जनताको यस सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ । उपरोक्त विषयहरूमा सबै पक्ष र जनसमुदायहरूले आआफ्नो स्थानबाट पहल गर्न र सङ्घर्षमा सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ । विशेष कार्यक्रमहरू : २०७७ कात्तिक १५ गते कोणसभा २०७७ कात्तिक १७ गते पर्चा वितरण २०७७ कात्तिक २० गते विरोधजुलुस नाराहरू : आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर । कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर । भ्रष्टाचारीलाई कारबाही गर । क्रान्तिकारी अभिवादनसहित ……….. विप्लव महासचिव मिति : ५ कात्तिक, २०७७

प्रतिकृया दिनुहोस्