News Portal

अस्पताल सञ्चालकसँग सांसद लिङ्देनकाे आग्रहः विरामीले अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस्

रातोपोस्ट
७६५ पटक

झापा, १३ कार्तिक। राप्रपा सांसद् राजेन्द्र लिङ्देनले बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गरेका छन्।

आजदेखि झापाका अस्पतालको अनुगमनमा निस्किएका सांसद लिङदेनले भद्रपुरको मेची प्रादेशिक अस्पतालबाट अनुगमन शुरु गर्दै यस्ताे आग्रह गरेका हुन् । विहीवार मेची अस्पतालकाे अनुगमनपछि भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल र बिर्तामोडको मनमाेहन र बिएन्डसी हस्पिटलको पनि उनले अनुगमन गरेका थिए।

मेची प्रादेशिक अस्पतालको अनुगमन क्रममा सांसद् लिङ्देनले सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरसँग सञ्चालन भइरहेको कोभिड हस्पिटलको अवस्था र समस्याका बारेमा जानकारी लिए। डा. ठाकुरले कोभिड र कोभिड नभएका सबै किसिमका बिरामीको उपचार भइरहेको जनाउँदै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि सरकारले तोकेबमोजिमको भत्ता सुविधा नपाएको अवगत गराए।

सांसद् लिङ्देनले बिएन्डसी हस्पिटलमा उपचारका लागि आएका सर्वसाधारण र कार्यकारी प्रमुख दुर्गा प्रसाईँलाई भेटेर त्यहाँबाट प्रवाह भइरहेको उपचार सेवाका बारेमा जानकारी लिएका थिए। कार्यकारी प्रमुख प्रसाईँले निजी हस्पिटलहरुले कोभिड बिरामीलाई उपचार सेवा प्रदान गरेर महामारीविरुद्धको अभियानमा ठूलो टेवा पुर्याएको बताए। आफ्नो हस्पिटलबाट कोभिडका बिरामी कसैलाई पनि नफर्काइएको र छुट्टै राखेर उपचार गरिएको जानकारी गराउँदै उनले केही दिनमा पीसीआर मेसिन राखेर सेवा प्रदान गरिने बताए।

लिङ्देनले कोरोनाको बहानामा अस्पतालले उपचार नगरी बिरामी फर्काउने गरेको र त्यसकै कारण अस्पताल चहार्दाचहार्दै मृत्युवरण गर्नुपर्ने दुःखद् अवस्था आएको जनगुनासो आएका कारण आफू अनुगमनमा निस्किनुपरेको बताए। कोभिड –१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएर स्वास्थ्यकर्मीले दिएको योगदान प्रशंसनीय रहेको बताउँदै सांसद् लिङ्देनले सरकारी पक्षबाट अस्पतालको नियमित अनुगमन हुनुपर्ने सुझाव दिए।

ओमसाई हस्पिटलका निर्देशक बालकुमार पोखरेलले जनप्रतिनिधिद्वारा अस्पतालको अनुगमन भएकामा खुशी व्यक्त गर्दै कोभिडविरुद्धको अभियानमा सबै जुट्नुपर्नेमा जोड दिए। रासस

प्रतिकृया दिनुहोस्