News Portal

गण्डकी प्रदेशमा कोरोनाबाट थप तीनको मृत्यु

रातोपोस्ट संवाददाता
६५९ पटक

पोखरा, १६ कात्तिक । कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । नवलपुरको कावासोती–६ का ६७ वर्षीय पुरुष र सोहि जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा गए राति निधन भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृतक दुबै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गरेका छन् ।

यसैगरी पोखरा महानगरपालिका–९ का ६२ वर्षीया महिलाको समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गए राति नै निधन भएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

यस्तै, गण्डकीमा थप नयाँ ६३ संक्रमित थपिएका छन् । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनासंक्रमितको संख्या ७ हजार ३७८ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ त्यसैगरी क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप नयाँ ३० जना गरि ६२ नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिकृया दिनुहोस्