News Portal

  • प्रचण्डकै कारण पार्टी अफ्ठेरो अवस्थामा आइपुग्यो : ईश्वर पोखरेल

    रातोपोस्ट
    ५८० पटक

    काठमाडाैं, १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गरेका छन्।

    बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैंसेपाटीमा गुटको भेला गरेर सहमतिविपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलले बताएका छन्।

    सोमबार साँझ एक कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृत्तिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको बताए। भने, ‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ अनि काउन्टर रणनीति के बन्छभन्दा समिकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैंसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ।’

    त्यसकारण समस्या त खडा हुने उनले बताए। उनले थपे, ‘दुई वटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने यदि सहमति हुन सकेन भने आ–आफ्नो विश्वासिला साथिहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरा गरे भइहाल्छ। अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेशनसम्म पुर्‍याउने कुरा गरे त हुन्थ्यो। त्यो नगर्ने बित्तिकै बिग्रेको हो।’

    पार्टी एकता गर्दाको समयमा भएको सहमतिका आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्ने पनि उनले बताए। पार्टी एकता गर्दाखेरीको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको पनि नेता पोखरेलले बताए।

    ‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन पर्‍यो, त्यो आधारमा टेक्नुपर्‍यो, त्यहाँ टेकेर बढ्नु पर्‍यो। यदि सकारात्मक निष्कर्षमा पुर्‍याउने, दुर्घटना हुनबाट बचाउने हो भने योभन्दा अर्को कुनै विकल्प हुँदैन। यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुखद् परिणाम हुन्छ,’ उनले बताए।

    अहिले पनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्रीसमक्ष दबाब सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए। नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्नेबाहेक केही पनि काम गर्न नसकेको समेत उनले आरोप लगाए। यस्तै पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनै पनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उनको भनाइ थियो। थाहा खबर

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)