
काठमाडौं, १८ कात्तिक । र्यापर समिर घिसिङ ‘भिटेन’ आफूलाई पक्राउ गर्न लागेपछि उच्च अदालत पाटन पुगेका छन्। उनले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दर्ता गराउँदै आफूलाई पक्राउ नगर्न आदेशको माग गरेका छन्।
भिटेनका तर्फबाट उच्च अदालतमा कात्तिक १६ गते निवेदन दर्ता गरिएको थियो। दसैं बिदा समाप्त भएर अदालत खुले लगत्तै उनले उच्चमा निवेदन दिएका हुन्। भिटेनको निवेदनमा मंगलवार सुनुवाईको पेशी रहेको छ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशमा सुनुवाई चलिरहेको छ। कात्तिक ८ गते भिटेनको युट्युब च्यानलमा सार्वनजिक गीतमा प्रयोग गरिएका शब्दहरुलाई लिएर उनको आलोचना भएको थियो । भिडियोमा उनले अश्लिल शब्दको प्रयोग र प्रहरीलाई गाली तथा आलोचना गरेका थिए।
प्रहरी प्रधान कार्यालय नक्सालले अनुसन्धान अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेपछि उनले युट्युबबाट गीत हटाएका थिए । नम्बर एक ट्रेन्डिङमा रहेको गीत हटाएका थिए। भिटेनले आफ्नो भिडियो युट्युबबाट हटाएर माफी समेत मागेका थिए । प्रहरीको अनुसन्धानको घेरामा परेपछि जुनसुकै समयमा पक्राउ गर्न सक्ने देखेपछि उनी उनी अदालत पुगेका हुन्।