News Portal

मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा, कोलकाता बाहिरियो

रातोपोस्ट संवाददाता
६४५ पटक

काठमाडौं, १९ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग राउन्डको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गरेको छ । जीतसँगै हैदराबादले प्लेअफमा स्थान बनाउन सफल भएको छ । मुम्बई, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लुरु यसअघि नै प्लेअफमा पुगिसकेको छ । कोलकाता नाइटराइडर्सको बैंग्लुरु र हैदराबादसँगै समान १४ अंक रहे पनि खराब नेट रनरेटका कारण प्लेअफसम्म पुग्न बञ्चित रह्यो ।

शारजाहमा भएको खेलमा टस हारेर ब्याटिङ गर्दै मुम्बईले १५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले उक्त लक्ष्य १७.१ ओभरमा बिना कुनै विकेट गुमाएर सफलता पूर्वक पछ्यायो । कप्तान डेविड वार्नर र ऋद्धिमान साहाले अर्धशतक बनाउँदै टोलीलाई सहज जित दिलाए । वार्नरले ८५ तथा साहाले ५८ रन बनाए ।

यसअघि, मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । किरोन पोलार्डले सर्वाधिक ४१ रन बनाए भने सूर्यकुमार यादव र ईशान किशनले क्रमशः ३६ र ३३ रन बनाए । हैदराबादका लागि सन्दीप शर्माले ३ तथा शाहबाज नदीम र जेसन होल्डरले २–२ विकेट लिए ।

अब हैदराबादले ६ नोभेम्बरमा एलिमिनेटर खेलमा बैंग्लुरुको सामना गर्नेछ । ५ नोभेम्बरमा क्वालिफायर १ मा मुम्बई र दिल्ली आमने सामने हुनेछ । क्वालिफायर १ मा विजयी टोली सिधै फाइनलमा पुग्नेछ । यसमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच क्वालिफायर २ मा भिडन्त हुनेछ । यसमा वि।जयी टोली फाइनलमा पुग्नेछ ।

प्रतिकृया दिनुहोस्