News Portal

दिल्लीलाई पराजित गर्दै मुम्बई फाइनलमा

रातोपोस्ट संवाददाता
९९९ पटक

काठमाडौं, २१ कात्तिक । साविक विजेता मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको प्ले अफको पहिलो क्वालिफायर खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

२०१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो। दिल्ली हार्नुको मुख्य कारण नै अग्रपंक्तिका तीन ब्याट्सम्यान शुन्यमै आउट हुनु हो।

ओपनर शिखर धवन र पृथ्वी शो दुबै खेलाडी शुन्य मै आउट भए। तेस्रो नम्बरमा आएका अजिंक्या राहाने पनि शुन्यमै आउट भएपछि दिल्ली दबाबमा आएको थियो। १।२ ओभरमा तेस्रो विकेटको रुपमा शिखर धवनलाई गुमाउँदा दिल्लीको शून्य रन थियो। २० रन हुँदा कप्तान श्रेयस ऐयर व्यक्तिगत १२ रनमा आउट भएपछि दिल्ली झनै तनाबमा आयो।

दिल्लीलाई मार्कस स्टोइनिस र अक्षर पटेलले उकास्न खोजेका थिए। स्टोइनिसले ४६ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए। अक्षरले ४२ रन बनाउँदा कागिसो रबडाले अविजित १५ रन जोडे। बलिङतर्फ मुम्बईका जस्प्रित बुमराहले चार ओभरमा १४ रन खर्चिएर चार विकेट लिँदा ट्रेन्ट बोल्टको नाममा दुई विकेट रह्यो।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०० रन बनाएको थियो। मुम्बईका लागि इशान किसनले ३० बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अविजित ५५ रन बनाए। त्यस्तै, सुर्यकुमार यादवले ३८ बलमा ५१ रन बनाउँदा क्विन्टन डि ककले २५ बलमा ४० रन जोडे।

कप्तान रोहित शर्मा र केइरन पोलार्ड शुन्यमै आउट भएपनि मुम्बईले दिल्लीलाई ठूलो लक्ष्य दियो। हर्दिक पाण्ड्याले १४ बलमा विष्फोटक ब्याटिङ गर्दै अविजित ३७ रन बनाउँदा क्रुनाल पाण्ड्याले १३ रन बनाए। बलिङतर्फ रविचन्द्रन अश्विनले चार ओभरमा २९ रन खर्चिएर तीन विकेट लिए पनि अन्य बलर महंगो सावित भए।

प्लेअफकै इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शुक्रबार प्रतिस्पर्धा गर्दैछ। यी दुई टिमबीचको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिकृया दिनुहोस्