News Portal

प्रधानमन्त्री ओली र नरवणेबीच शिष्टाचार भेट

रातोपोस्ट संवाददाता
५३६ पटक

काठमाडौँ, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् । तीन दिने भ्रमणको अन्तिम दिन नरवणेले आज प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यस अघि विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

भारतीय नेपाल र भारतीय सेनाबीच एकअर्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा रहिआएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।

यसअघि नरवणेले विहिबार नै जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासंभ भेटवार्ता गर्दै स्वास्थ्य सामग्री सहयोगको आदानप्रदान गरेका थिए । त्यस्तै भ्रमणको पहिलो दिन बुधबार काठमाडौँ आइपुगेका नरवणेले भ्रमणको पहिलो दिन नरवणेले वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघर लगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेका थिए ।

श्रीमतीसँगै नेपाल आएका नरवणेले बुधबार साँझ पशुपति क्षेत्र गई कोभिड –१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गरेका थिए । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमण दलका साथ भारतीय सेनाध्यक्ष नरवणे बुधबार यहाँ आएका हुन् ।

नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी सेनाध्यक्ष नरवणे आज स्वदेश फर्किदै छन् ।

प्रतिकृया दिनुहोस्