News Portal

तिहारलगत्तै त्रिविका परीक्षाः विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारी

रातोपोस्ट संवाददाता
५१० पटक

काठमाडौँ, २२ कात्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

अन्तिम तहको परीक्षा प्राथमिकतामा
विश्वविद्यालयले स्थगित गरिएकामध्ये अन्तिम तह या सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई प्राथमिकता दिने योजना बनाएको छ । यस क्रममा स्नातक तह चौथो वर्ष या स्नातकोत्तर तहको अन्तिम सेमेस्टरका विद्यार्थीको परीक्षा पहिलो प्राथमिकतामा राखिएको छ । विद्यार्थीको शैक्षिक सत्र सदुपयोग हुन सकोस् भन्ने हिसाबले विश्वविद्यालयले अन्तिम तहका विद्यार्थीलाई प्राथमिकतामा राखिएको हो ।

सेमेस्टरको मङ्सिर १५ पछि
विश्वविद्यालयले स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिर १५ पछि सञ्चालन गर्ने भएको छ । यस वर्ष मङ्सिर १ गते तिहार परेको छ । विद्यार्थीलाई दुई साताको समय दिएर परीक्षा सञ्चालन गर्न लागिएको हो । सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने अधिकारको विश्वविद्यालयको डिन कार्यालयलाई दिइएको छ । डिन कार्यालयले मङ्सिरमा परीक्षा लिने भने पनि कार्यतालिका भने सार्वजनिक गरेका छैनन् । अब डिन कार्यालयले सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको स्वतन्त्र तरिकाले परीक्षा सञ्चालन गर्न सक्नेछन् ।

वार्षिकको परीक्षा अन्तिम साता
यसैबीच विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अनुसार अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिर अन्तिमबाट सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न आवश्यक तयारी र गृहकार्य गरिरहेको जानकारी रजिस्ट्रार दाहालले दिए । मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन विषयमा वार्षिक परीक्षा प्रणालीमा हजारौँ विद्यार्थी अध्ययन गर्ने भएकाले ती विद्यार्थीको परीक्षा केही सातापछि हुनेगरी लिन लागिएको हो । यस विषयमा विश्वविद्यालयले छिट्टै विद्यार्थीलाई सूचित गर्ने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्