News Portal

आइपीएल : मुम्बई पाँचौ पटक च्याम्पियन

रातोपोस्ट संवाददाता
८०७ पटक

काठमाडौं, २६ कात्तिक । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौ पटक आइपिएल उपाधि जितेको हो ।

दिल्लीले प्रस्तुत गरेको १५७ रनको विजयी लक्ष्य मुम्बईले १९ औं ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै आइपिएलको पाँचौ उपाधि जित्न सफल भएको हो । मुम्बईलाई सहज जित दिलाउन कप्तान रोहित शर्मा ५१ बलमा ६८ रनको योगदान दिए । युवा ब्याट्सम्यान ईशान किशन १९ बलमा ३३ रनमा अविजित रहे । हार्दिक पान्ड्या ५ बलमा ३ रन जोड्दै जितका लागि १ रन बाँकी रहँदा क्याच आउट भए ।

मुम्बईलाई ओपनर रोहित र क्विन्टन डी ककले ४.१ ओभरमा ४५ रन जोड्दै राम्रो सुरुवात दिलाए । स्टोइनिसले आफ्नो पहिलो बलमै डी ककलाई ऋषभ पन्तबाट २० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । दोस्रो विकेटका लागि रोहित र सूर्यकुमार यादवले ४५ रनको साझेदारी गरेका थिए । दिल्लीका एन्रीच नोर्कियाले २ तथा मार्कस स्टोइनिस र कागीसो राबाडा १-१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । कप्तान श्रेयस ऐरले ५० बलमा ६५ रनमा अविजित रहे पनि उपाधिको लागि पर्याप्त रहेन ।
विकेटकिपर ऋषभ पन्त ३८ बलमा ५६ रनको महत्वपूर्ण योगदान दिएका थिए । दिल्लीको सुरुवात भने खराब रह्यो । पहिलो बलमै ओपनर मार्कस स्टोइनिसलाई गुमाएको थियो । तेस्रो ओभरको चौथो बलमा अजिक्या रहाने लेग साइडमा सट खेल्नेक्रममा एज लाग्दै २ रनमा डी ककबाट समातिन पुगेका थिए ।

चौथो ओभरको तेस्रो बलमा स्पिनर जयन्त यादवले अर्का ओनपर शिखर धवनलाई १५ रनमा बोल्ड आउट गरे । धवन आउट हुँदा दिल्ली २२–३ को कमजोर अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि पन्त र ऐरले उत्कृष्ट साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।

१५ औं ओभरको अन्तिम बलमा नाथन कुल्टर नाइलले पन्तलाई हार्दिक पान्ड्याबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । बोल्टको १८ औं ओभरको दोस्रो बलमा हेटमायर नाथन कुल्टर नाइलबाट ५ रनमा क्याच आउट हुन पुगे । अक्षर पटेल ९ रनमा क्याच आउट भए ।

मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए । जयन्त यादवले १ विकेट लिए र नाथन कुल्टर नाइलले २ विकेट लिए । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

योसँगै अहिलेसम्म १३ औं सिजनमा मुम्बई इण्डियन्स छैठौ पटक फाइनल खेलेर पाँच पटक उपाधि जितेको छ । त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्स पहिलो उपाधि जित्नबाट चुकेको छ ।

प्रतिकृया दिनुहोस्