News Portal

झापामा २० लाख बढीको बारुदजन्य पटाका बरामद

रातोपोस्ट संवाददाता
९२७ पटक

झापा, २७ कात्तिक । जिल्ला प्रहरी कार्यालय झापा र त्यस मातहत रहेको प्रहरी कार्यालयहरूले करिब २० लाख बढीको बारुदजन्य पटाका बरामद गरेको छ । करिब एक महिनाको अवधिमा बरामद गरिएको विभिन्न प्रकारको पटाकालाई बिहीबार (आज) पत्रकार सम्मेलन गरेर प्रहरी कार्यालय झापाले कार्यालय परिसरभित्रै खाल्डो खनेर नष्ट गरेको हो ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राएको पटाकाहरू प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो । प्रहरीले घरमा छापा मारेर र सीमा नाकाबाट भित्रिँदै गरेको अवस्थामा सो मूल्य बराबरको पटाका बरामद गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले बताए ।

प्रहरीले अढाई सय सम्मको आकाशमा पड्किने पटाका, जगमग, खुर्सानी, झिरझिरे, अनार लगायत नाम गरेका पटाकाहरू भद्रपुर, काँकडभिट्टा, गौरीगञ्ज, झापा गाउँपालिका लगायतको क्षेत्रबाट बरामद गरेको एसपी कोइरालाले जानकारी दिए ।

भद्रपुरमा मात्रै प्रहरीले छापा मारेर चार वटा घरबाट करिब १५ बोरा भन्दा बढी पटाका बरामद गरेका थियो । जिल्लासँग जोडिएको भारतको पश्चिम बङ्गालमा समेत पटाका प्रतिबन्ध छ । तर, विहारसँग जोडिएको जिल्लाका नाकाहरूबाटै ठुलो परिणाममा पटाका भित्रिएको हो ।

विहारमा भने पटाका खुलेआम किनबेच हुन्छ । पटाका नेपाल भित्राए बापत कारोबारी र तस्करलाई सय प्रतिशत सम्म नाफा हुन्छ । यो समयमा कारोबारी र तस्करीले अन्य धन्दा छाडेर प्रतिबन्धित पटाका भित्राउन लागि पर्ने गरेको स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस्