
झापा, २९ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देवकाेटा पार्कमा मनाइँदैछ ।
झापाको मेचीनगर-६ स्थित काक्रभिट्टामा रहेकाे देवकाेटा पार्कम महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकमा माल्यार्पण गरि आज दिउँसो ३ बजे मनाइने भएको हो । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन भएको थियो ।
कोरोनाको कहरका बिच सामाजिक दुरी कायम गरि आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर बिशेष कार्यक्रमको आयोजना गरिने देवकोटा जन्मजयन्ती आयोजक समितिका सल्लाहकार संयाेजक तथा निर्माण समितिका अध्यक्ष बालकृष्ण थापाले बताए ।
‘यतिबेला पार्कको सजावटको काम भइरहेको छ । हाम्रो तयारी लगभग अन्तिम चरणमा छ । हामीले विषम परिस्थितिमा सजगता अपनाएर कार्यक्रम गर्नेछौं,’ देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार खरेलले भने ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा देवकोटा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक मानिन्छन् । दश वर्षका उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।