News Portal

  • छद्म क्रान्ति जित्न शहिदकी आमाको सन्देश

    ✍️प्रबिण मिश्र`मनिष`
    १५२ पटक

    नमस्ते आमा ! सन्चै हुनुहुन्छ ?
    शहिद रमेशकि आमालाइ सोधें
    काठेपिर्कामा छेउमै बसें …तर
    आमाका बोली फुटेनन्, कुनै शब्द फुरेनन्
    नत नमस्कारको प्रतिउत्तर नै फर्कियो

    आमा,एकोहोरिनु भो, एकनासले मलाइ हेर्नूभो
    मलाइ अचम्म लागो, मन खल्लो भो
    भनें, आमा चिन्नुभएन ? म मनिष ..!
    च्याप्प दांयाहात समातेर मुसार्नु भो
    आँखाले निरन्तर जलधारा गरे

    घ्वाँक्क घ्वाँक्क आमाका गलाहरुले
    हिक्का छोड्न थाले, पीडा पोख्न थाले
    अनायसै मेरा मन मस्तिष्क तातिए
    थाहै नपाइ तप्प-तप्प आँशुका ढिक्काहरुले
    जब आङ भिजाए , म सतर्क भए
    समालिदै आमाको  ढाड थप्थपाएं
    सान्तवनाका शब्द पोखें, ढाडस दिएं
    किन के भो?

    आश्चार्यका पर्रा फुटाए
    बोल्ने कोसिस जारि थिए आमाका
    जीऊ शिथिल थिए, गला अवरुद्ध
    बाबू म अनपढ मान्छे धेरै जान्दिन
    धेरै बुझ्दिन तर क्रान्तिमा बिश्वास छ
    सायद !

    त्यहि बिश्वासको प्रतिफल
    मेरो मुटु चुँडियो, छोरा गुमाएं तर
    तिमिहरुमै छोराको चित्र देख्छु म
    आफ्नै ठान्दछु, र चित्त बुझाउंछु
    सायद ! तिम्रि आमाका पनि मेरै जस्तै
    दु:ख, सपना र आशा होलान्,

    परिवर्तनका सगरमाथा र विश्वास होलान्,
    मैले ६५ बर्खा  उमेर कटाए बाबू ..!
    धेरै भोगें, हेरें र अनुभव गरें
    एकदिन चतुर्रमानले भेटेका थे
    मेरा सपना र आशा उद्धेलित पारेथे
    खुइय्या सुस्केरा हालेर कुरै कुरामा
    आमा हामी मरे पनि बाच्छौं भने
    यो सत्ताका पर्खाल,सिंडि र मकानहरु
    खिया परेकाछन, मक्किएका छन्, कमजोरछन्,

    तर आमा !..
    हाम्रै खोल ओडेका छद्महरु
    राता झण्डा बोकेर हिँडिरहेछन्, हामिसंगै छन्,
    कतै हामिभन्दा बलियाछन्, कतै शसक्त छन्,
    कताकता कहिलेकाहिं डर लाग्छ आमा,
    यी छद्म नजिति दुस्मन जित्न सकिएला ??

    उनी आफैं आजसम्म बेपत्ता छन् रे
    अर्को फेरा मेरो भेट पनि भएन बाबू
    झल्झल्ति सम्झन्छु आज दिनेश
    बिष्णु, सुर्य, शम्भु र ताराहरु
    संझना , नन्दु, सुरेश र अरु अरु
    तर उनिहरु राता झण्डा बोक्ने कै कोपभाजनमा
    छद्म क्रान्तिकारी दुर्जनकै योजनामा
    गुमनाम मरे, बेपत्ता परे, सिद्धिए
    तिमीहरुले क्रान्ति मर्न दिएका छैनौं
    म खुशि त तिमिहरु प्रति छु नै
    तर छोरा ….!

    राता झण्डा बोक्ने दुर्जनहरुको
    अस्तित्व नामेट पारेनौ भनें , पहिचान गर्न सकेनौं भनें
    तिमिहरुलाइ सिध्याइन्छ र नामेट पारिन्छ
    आश्चार्य लाग्ला, छक्क पर्लाउ, अचम्म लाग्ला
    तर यहि सत्य हो मेरो छोरा ..!
    हैनभने किन तिनीहरुले तीन फुट उफ्रिएर
    तिमिहरुले जेल मोर्चा सम्माल्दै गर्दा
    तिमीहरुका बिरुद्ध छद्महरुले, लाल झण्डा बोकेका दुर्जनहरुले
    मिथ्या हल्ला किन चलाए ?

    नङ्गाउने, खुइल्याउने र सक्ने कोसिस किन गरे?
    नजिकबाटै मैले यी परिदृष्य देखें बाबु
    सहयोद्धा पक्रिदा खुशिका पार्टि चले
    जेल कोचिदा बिचलनका कुुुरा चले
    न्याय खोज्दा घात/ प्रतिघातका समाचार बने
    तर ती दुर्जन र छद्म क्रान्तिकारी हरुले
    आफुलाइ अब्बल भनाइरहे , क्रान्तिकारी कहलाइरहे
    शहिद हस्ताको थात उठाए,वास हटाए
    जुवाका खाल चलाए, वेश्याका अड्डा जमाए

    सांस्कृतिक बिचलनताले सिमा नागे
    तिन महिना मै सन्तान जन्माए
    सुकुम्बासी, गरिब र मजदुरका नाममा
    जग्गा हडपे , पैसा कुम्ल्याए
    शहिद, बन्दी र बेपत्ताहरुको
    हुर्मत कडाए , खिल्लि उडाए
    नेता, वकिल , कर्मचारी गुहारी
    कैद ठेगाउन भुमिका खेले

    तिमी र तिमिहरु जेल कोचिदै गर्दा
    छद्म क्रान्तिकारी दुर्जनहरुले
    हो छोरा … हो ..! त्यसैले
    तिमिले ज्वालामुखि बन्नुपर्छ
    छद्म क्रान्तिकारी दुर्जनहरुका
    पर्दाहरु च्यात्नु पर्छ , भ्रमहरु चिर्नु पर्छ
    एकीकृत जनक्रान्तिको भट्टि भित्र

    शुद्धिकरणका लाभा पोखाउनु पर्छ
    नत्र तिमिहरुको बेनाम अवसान त छदैछ
    शहिद बन्दी बेपत्ता र परिवारहरुका
    विश्वास आशा र भरोसा माथि
    फेरि पनि इतिहासको धोकाधडि दोहोरिनेछ

    क्रान्तिको दियो निभ्ने छ, न्यायको आशा मर्ने छ
    तिनै छद्म क्रान्तिकारी र दुर्जनहरुका
    दवदबा बढ्नेछ , बोलबाला चल्नेछ
    ( ७ भदौ०७७, चन्द्रगढी, झापा)

    प्रतिकृया दिनुहोस्