News Portal

प्रधानमन्त्रीको सन्देश लिएर प्रचण्ड निवास पुगे पौडेल

रातोपोस्ट संवाददाता
६९१ पटक

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

बुधबार बस्ने सचिवालय बैठक अघि ओलीको सन्देश लिएर प्रचण्ड भेट्न पौडेल खुमलटार पुगेका हुन्। उनीहरुको भेट करिब १ घन्टा चलेको प्रचण्डको सचिवालयले जनाएको छ । विवाद समाधानको प्रयास स्वरुप महासचिव पौडेल प्रचण्ड निवास पुगेकाे जनाइएकाे छ। प्रचण्डसँग भेट गरेर पौडेल बालुवाटार पुगेका छन् । उनीहरुबिच विवाद समाधानको प्रयासबारे छलफल भएको बताइए पनि थप कुरा सार्वजनिक भएको छैन ।

यसअघि ओलीले माधव नेपाल, वामदेव गौतम र पूर्वमाओवादी नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । ओली पक्षले प्रचण्डले गएको शुक्रबार सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्ताव फिर्ता भएपछि मात्रै मंसिर ३ गते निर्धारित सचिवालय बैठकमा बस्ने अडान लिएको छ ।

तर प्रचण्ड पक्षका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव आफूहरुको सामूहिक रहेको बताउँदै आएका छन् ।

नेता नेपाल र गौतमले ओलीलाई आफ्नो कार्यशैली सच्याउन चुनौती पनि दिएका छन् । यस्तो बेला खुमलटार पुगेर पौडेलले प्रचण्डसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्