News Portal

निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने तीन जना प्रकाउ

रातोपोस्ट संवाददाता
१४३१ पटक

काठमाडौं, ४ मंसिर । काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने र भिडियो अपलोड गर्ने तीनै जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एक जना १६ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले भक्तपुर महानगरपालिका-५ टौमढीका १७ वर्षीय विशेष जोशीलाई बिहान पक्राउ गरेको थियो। अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए। उनको उमेर कम रहेका कारण प्रहरीले नाम खुलाएको छैन।

उनीहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। हाल तीनै जनामाथि सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। सबैलाई साइबर ब्युरो पठाउने वा त्यहीँ मुद्दा चलाउने भन्ने निर्णय भइसकेको छैन। निकिशा ‘एलजीबीटी आईक्वी’ समुदायकी हुन्। उनीमािथ सडकमै केही युवाहरुले दुर्व्यबहार गरी भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए।

सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि प्रहरी हेडक्वार्टरले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो। भिडियो ‘सफिल’ नामको फेसबुक एकाउन्टबाट सार्वजनिक भएको थियो। ब्यापक विरोध भएपछि हाल उक्त एकाउन्ट प्रयोगकर्ताले भिडियो हटाएका छन्। भिडियो अपलोड गर्ने र उक्त घटनामा संलग्न सबैलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिकृया दिनुहोस्