News Portal

नेपाल प्रहरीमा एआईजी र पाँच डीआईजीको दरबन्दी थपियो

रातोपोस्ट संवाददाता
५१९ पटक

काठमाडौं, ४ मंसिर । नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ ।

गृह मन्त्रालयले प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआइजी) र ५ प्रहरी नायव महानिरीक्षक (डीआइजी)को दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो । गृहको यो प्रस्ताव बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै संघीय राजधानी प्रहरी गठन हुने भएको छ । त्यसको नेतृत्व एआइजीले गर्ने सरकारको तयारी रहेको छ । काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा संघीय राजधानी प्रहरीले हेर्ने छ ।

अहिलेसम्म राजधानीको सुरक्षा वागमती प्रदेश मातहत रहँदै आएको थियो । सरकारले प्रहरी ऐनबाटै संघीय राजधानी हेर्न छुट्टै संरचना बनाउने व्यवस्था गरेपछि अलगै संरचना बन्न लागेको हो । यस विरुद्ध बागमती प्रदेश सरकारले संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेको छ । संघीय राजधानी प्रहरी गठन भएपछि महानगरीय प्रहरी संरचना हट्नेछ ।

अहिलेसम्म तीन एआइजीको मात्र दरबन्दी थियो । एआइजीको दरबन्दी थपिएसँगै डिआइजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह, उत्तम सुवेदीमध्य एक एआइजी हुनेछन् । थपिएका ५ डिआइजी एक जना साइबर ब्युरो र बाँकी चार जना प्रधान कार्यालयमा रहने नयाँ दरबन्दी कायम गरिएको छ । प्रहरीमा २६ डिआइजीको दरबन्दी घटाएर १४ मा झारेको एक वर्ष नपुग्दै ५ दरबन्दी थपेर १९ पु¥याइएको हो ।

प्रतिकृया दिनुहोस्